मुलुकको अर्थतन्त्रमा गृह श्रमिकको भूमिका : पहिचान र सामाजिक सुरक्षाबारे विशेष छलफल सम्पन्न
काठमाडौं । हिजो (सोमबार, २०८३ मंसिर ७ गते / नोभेम्बर २३, २०२६) नयाँ बानेश्वरस्थित अल्फा हाउसको स्काई सदन हलमा आयोजित ‘नेपालका घरमा आधारित कामदारहरूको आर्थिक योगदानको मूल्याङ्कन : सरोकारवालाहरूसँग छलफल कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ । गृह श्रमिक सरोकार समाज नेपाल (HBWCSN) लगायतका संस्थाहरूको पहलमा सम्पन्न उक्त कार्यक्रमले घरको चार पर्खालभित्र रहेर सियो-धागो, ढाका, गलैँचा, पस्मिना, अल्लो, ऊनीका सामान, हस्तकला, धूपबत्ती, थाङ्का चित्रकला, खाद्य प्रशोधन तथा साना व्यवसायमार्फत परिवार धानेर मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याइरहेका गृह श्रमिक—विशेषगरी महिलाहरूको श्रम, सीप र योगदानलाई नीति तथा तथ्याङ्कमा सम्मानजनक स्थान दिनुपर्ने सशक्त सन्देश दिएको छ ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्क तथा विश्लेषणले गृह श्रमिकहरूले पारिवारिक आम्दानीमा औसत ३० प्रतिशतभन्दा बढी र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब १० देखि ११ प्रतिशत (तथा कृषि मूल्याङ्कनका आधारमा अझ बढी) योगदान पुर्याइरहेको यथार्थ उजागर गर्दै अब उनीहरूको योगदानलाई ‘दया’ होइन, बलियो ‘आर्थिक आधार’ र राष्ट्रिय समृद्धिको महत्वपूर्ण खम्बाका रूपमा हेरिनुपर्नेमा जोड दियो । यही सन्दर्भमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य सिपु कर्णवालले घरभित्र बुनिएका उत्पादनलाई विश्वव्यापी मूल्य शृङ्खलामा जोड्ने,नीतिलाई भुइँ तहको वास्तविकतासँग जोड्ने र १६औँ–१७औँ योजना तथा भिजन २०५० मा यी सिकाइ समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो, भने राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रतिनिधि मनोहर घिमिरेले नयाँ श्रम शक्ति सर्वेक्षणमा ‘टाइम युज मोड्युल’ समावेश गरिएको र स्पष्ट कानुनी परिभाषा तथा फ्रेमवर्क बने तथ्याङ्क मापन अझ प्रभावकारी हुने जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) की प्रतिनिधि बिना कुँवर थापाले श्रम ऐन संशोधनमा गृह श्रमिकका विषय समेट्ने छलफल, महासन्धि १७७ र १११ को कार्यान्वयन तथा न्यायिक समितिमार्फत ज्यालाको अधिकार खोज्न सकिने कानुनी पाटोमा जोड दिनुभयो भने श्रमिक अगुवा,प्राध्यापक, हस्तकला महासंघ, ट्रेड युनियन, सञ्चारकर्मी र युवा अभियन्ताहरूले २५ वर्षदेखिको संघर्षलाई कानुनी पहिचान, त्रिपक्षीय प्रतिनिधित्व र सामाजिक सुरक्षामा रूपान्तरण गर्न सामूहिक ऐक्यबद्धता जनाए । गृह श्रमिककै हातले तयार पारिएका कलात्मक चिनो आदानप्रदानसहित सम्पन्न हिजोको यो संवाद कार्यक्रमले घरभित्रका हातहरूले बुनिरहेको आर्थिक सम्भावना र गृह श्रमिक महिलाहरूको उन्नयनको यात्रालाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गरेको छ ।



प्रतिकृया दिनुहोस्