क्यानडा र अस्ट्रेलिया पठाउने भन्दै ५७ लाखभन्दा बढी ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ!

क्यानडा र अस्ट्रेलिया पठाउने भन्दै ५७ लाखभन्दा बढी ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ!

काठमाडौं, वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र उज्ज्वल भविष्यको प्रलोभन देखाएर सर्वसाधारणबाट ठूलो रकम ठगी गर्ने दुई जना गिरोह काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन्। क्यानडा र अस्ट्रेलिया पठाइदिने बहानामा करिब ५८ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने २८ वर्षीय रोजन डंगोल र तारकेश्वर नगरपालिका-६ बस्ने ३१ वर्षीय किसान श्रेष्ठ रहेका छन्। आरोपी रोजनले क्यानडा पठाइदिने भन्दै एक पीडितबाट ३७ लाख २७ हजार रूपैयाँ र किसानले अस्ट्रेलिया पठाइदिने प्रलोभनमा अर्का पीडितबाट २० लाख ७० हजार रूपैयाँ असुलेर लामो समयदेखि फरार रहँदै आएका थिए।

पीडितहरूले रकम गुमाएपछि दिएको किटानी उजुरीका आधारमा खटिएको प्रहरी टोलीले रोजनलाई काठमाडौं-१२ बाट बुधबार र किसानलाई तारकेश्वर-६ बाट शुक्रबार नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कडा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी रोजनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ भने अर्का आरोपी किसानलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ। वैदेशिक रोजगारीको नाममा यस्ता ठगी धन्दा चलाउनेहरूमाथि प्रहरीले निगरानी बढाएको छ।