चाडपर्वमा कडा सुरक्षा घेरा: बदमासी गर्ने र गैरव्यावसायिक प्रहरी दुवैमाथि कडा कारबाहीको चेतावनी!
काठमाडौं, महान चाडपर्वहरू नजिकिदै गर्दा देशभरको सुरक्षा व्यवस्थालाई चुस्त, प्रभावकारी र कडा बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विशेष निर्देशन दिनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित उच्चस्तरीय बैठकमा बोल्दै उहाँले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्वन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभयो।
पर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा आपराधिक क्रियाकलापहरूलाई समयमै रोक्न सादा पोसाकका प्रहरीसहित सम्पूर्ण टोलीलाई उच्च सतर्कताका साथ परिचालन गरिने भएको छ। प्रहरी महानिरीक्षक कार्कीले नागरिकका समस्या तुरुन्तै सम्बोधन गर्न र स्थानीय तह एवम् सरोकारवाला पक्षहरूसँग सहकार्य गर्दै उत्तरदायी तथा पारदर्शी प्रहरी सेवा प्रवाह गर्न जोड दिनुभयो।
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सीमा नाकाहरूमा हुन सक्ने तस्करी, आपराधिक गतिविधि र फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सूचना संकलन तथा विश्लेषणलाई तीव्र पारिने भएको छ। साथै, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि अवाञ्छित गतिविधिप्रति प्रहरी थप सचेत भई खटिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
संगठनको अनुशासन र मर्यादाबारे बोल्दै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा विशेष संवेदनशील हुन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिनुभयो। गैरव्यावसायिक वा अनुशासनहीन क्रियाकलापमा संलग्न हुने जुनसुकै प्रहरी कर्मचारीहरूलाई समेत कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभयो।
उक्त महत्वपूर्ण भर्चुअल बैठकमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्ले लगायत काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशका प्रहरी प्रमुखहरू, जिल्ला प्रहरी परिसर, जिल्ला प्रहरी कार्यालय र मुद्दा चल्ने तल्ला इकाईसम्मका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
(Photo/News source: Nepal Police Headquarter)



प्रतिकृया दिनुहोस्