तारकेश्वर नगरपालिकाको कडा कदम: बालबालिकालाई सुर्ति, मदिरा र दुर्व्यसनी हुन सक्ने औषधि बिक्रीमा रोक
काठमाडौं । बालबालिका तथा विद्यार्थीलाई कुलतबाट जोगाउन तारकेश्वर नगरपालिकाले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तीजन्य पदार्थ, मदिराजन्य पदार्थ तथा दुरुपयोग हुन सक्ने औषधि बिक्री-वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। नगरपालिकाले यससम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नियम उल्लङ्घन गर्नेमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ।
नगरपालिकाभित्र सञ्चालित विभिन्न पसलबाट बालबालिकालाई हानिकारक पदार्थ सहजै उपलब्ध भइरहेको भन्ने जनगुनासो बढेपछि नगर कार्यपालिकाको कार्यालयले यस्तो सूचना जारी गरेको हो। बालबालिकाको स्वास्थ्य, सुरक्षा र भविष्यलाई ध्यानमा राख्दै बिक्री-वितरणमा कडाइ गर्न लागिएको नगरपालिकाले जनाएको छ।
सूचनाअनुसार प्रचलित कानुनबमोजिम विद्यालय, कलेज, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्रलगायतका स्थानको कम्तीमा १०० मिटर वरिपरि सुर्तीजन्य पदार्थको बिक्री-वितरण गर्न निषेध गरिएको छ। त्यस्तै, किराना पसल, मदिरा पसल, औषधि पसल तथा अन्य व्यवसायीले १८ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई सुर्तीजन्य पदार्थ, मदिरा र दुरुपयोग हुन सक्ने औषधि बिक्री गर्न पाउने छैनन्।
नगरपालिकाले नियमको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीमार्फत नियमित बजार अनुगमन गर्ने जनाएको छ। सूचनाविपरीत कार्य गरेको पाइएमा सम्बन्धित व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।
हानिकारक पदार्थको सहज पहुँचले बालबालिकाको शारीरिक, मानसिक, नैतिक तथा सामाजिक विकासमा नकारात्मक असर पार्न सक्ने भएकाले नगरपालिकाले व्यवसायी, अभिभावक तथा नागरिक समाजलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालद्वारा जारी सूचनामा “लागूऔषधबाट बचौं, आफ्ना बालबालिकालाई बचाऔं, र एक स्वस्थ, सुरक्षित एवं सभ्य समाज निर्माणमा सबैले हातेमालो गरौं” भन्ने सन्देश दिइएको छ।
बालबालिकालाई कुलतबाट जोगाउन र सुरक्षित वातावरण निर्माण गर्न नगरपालिकाले चालेको यस कदमको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी, विद्यालय, अभिभावक र स्थानीय समुदायबीच सहकार्य आवश्यक देखिन्छ।
यससम्बन्धी थप जानकारी वा गुनासोका लागि नगरपालिकाको टोल फ्री नम्बर १६६००१०२५५५ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।




प्रतिकृया दिनुहोस्