देशभर अविरल वर्षा: बाढी-पहिरोमा परी २ जनाको मृत्यु, १ बेपत्ता। पृथ्वी राजमार्ग र बिपी राजमार्गसहित २९ मुख्य सडक ठप्प!
अविरल वर्षा, बाढी-पहिरो र हावाहुरीका कारण देशका विभिन्न भू-भागमा जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षाका कारण दुई जनाको ज्यान गएको छ भने एक जना बेपत्ता र एक जना घाइते भएका छन्। त्यसैगरी देशका विभिन्न भागमा पाँचवटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ।
विपद्का कारण डोल्पा र धादिङमा एक-एक जनाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी-७ मा गोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसीको भिरबाट खसेको ढुङ्गाले लागेर उपचारका क्रममा मृत्यु भएको छ भने सोही दुर्घटनामा ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका छन्। उता धादिङको बेनीघाट रोराङ-२ मा खानीखोला तर्ने क्रममा ५५ वर्षीया सुकुमाया चेपाङलाई खोलाले बगाउँदा उपचारका क्रममा मृत्यु भएको छ। यस्तै, पाल्पाको रुम्दीकोट-६ मा पहिरोले घर पुर्दा ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएकी छन्।
पहिरो र हावाहुरीका कारण देशका विभिन्न ठाउँमा घरहरू क्षतिग्रस्त भएका छन्। पाल्पाको रुम्दीकोटमा दुईवटा घर पहिरोले पुरिएका छन् भने पाँचथरको हिलिहाङमा एक घर ढलेर पूर्ण रूपमा नष्ट भएको छ। ओखलढुङ्गामा घरको गारो भत्किएको छ भने अछामको तुर्माखाँदमा हावाहुरीले कच्ची घरको जस्तापाता उडाउँदा पीडित परिवार छिमेकीको शरणमा बस्न बाध्य भएका छन्।
निरन्तरको वर्षासँगै खसेको पहिरो र लेदोका कारण देशका ५ वटा प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सहायक गरी कुल २९ वटा सडकखण्ड अवरुद्ध भएका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका मुख्य सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ।
बागमती प्रदेशमा काठमाडौँ उपत्यका भित्रिने-बाहिरिने पृथ्वी राजमार्गका विभिन्न खण्डहरू (कृष्णभिर, परेवाटार), कान्ति लोकपथ, बिपी राजमार्ग र कुलेखानी-सिस्नेरी सडक बन्द भएका छन्। यस्तै कोशीको मध्यपहाडी लोकमार्ग र मेची करिडोर, गण्डकीको बेनी-जोमसोम र पोखरा-बागलुङ सडक, लुम्बिनीको सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर तथा कर्णालीको कर्णाली राजमार्ग र राप्ती राजमार्ग पहिरोका कारण ठप्प छन्। हाल सडक विभाग र सुरक्षा निकायको टोली पहिरो पन्छाउन खटिरहेको छ भने सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।



प्रतिकृया दिनुहोस्