भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै देशभर १० हजारभन्दा बढी प्रहरी उच्च सतर्कतामा परिचालित

भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै देशभर १० हजारभन्दा बढी प्रहरी उच्च सतर्कतामा परिचालित

काठमाडौँ, असोज ९ देखि १२ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनीपछि नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाएको छ।

सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्नुका साथै आवश्यक परेको अवस्थामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८३’ अनुसार देशभरका प्रहरी इकाइहरूलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

विपद् व्यवस्थापनलाई प्रभावकारी र समन्वयात्मक बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा सबै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित २४ घण्टे कमाण्ड पोस्ट स्थापना गरिएको छ।

प्रहरी प्रधान कार्यालयदेखि काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश तथा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तहसम्म गरी १० हजार ८५ जना प्रहरी जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित जुनसुकै समयमा परिचालन गर्न सकिने अवस्थामा राखिएको छ।

विशेष उद्धारका लागि सामाखुशीस्थित तालिम केन्द्रबाट एक–एक प्लाटुन जनशक्ति अत्याधुनिक उद्धार सामग्री र ड्रोनसहित गण्डकी तथा लुम्बिनी प्रदेशमा परिचालन गरिएको छ। त्यस्तै, विपद् प्रतिकार्य तालिम केन्द्र, प्रदेश प्रहरी गुल्म तथा विभिन्न विशेष सुरक्षा गणबाट थप २ हजार ६ सय २५ जना प्रहरी कर्मचारीलाई चौबीसै घण्टा स्ट्यान्डबाईमा राखिएको छ।

नेपाल प्रहरी अस्पताल, सूचना प्रविधि निर्देशनालय, सवारी महाशाखा तथा केनाइन शाखाका विशिष्टीकृत टोलीलाई समेत उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ। आवश्यकता अनुसार यी टोलीलाई तत्काल सम्बन्धित क्षेत्रमा परिचालन गरिनेछ।

यसैबीच, यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै जोखिमयुक्त प्रमुख राजमार्ग तथा सडकखण्डमा अत्यावश्यकबाहेक रात्रिकालीन आवतजावतमा रोक लगाइएको छ।

सिद्धिचरण लोकमार्ग, टोखा–छहरे सडक, कान्ति लोकपथ, कुलेखानी–काठमाडौँ सडक, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, राप्ती राजमार्ग तथा मदन भण्डारी राजमार्गका जोखिमयुक्त क्षेत्रमा सवारी आवागमनमा विशेष निगरानी र कडाइ गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (DIG) अबि नारायण काफ्लेका अनुसार स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी सम्भावित विपद्बाट जनधनको सुरक्षा गर्न व्यापक प्रहरी परिचालन गरिएको छ।

प्रहरीले बाढी तथा पहिरोको उच्च जोखिममा रहेका नदी किनारका बस्ती र भिरालो भूभागमा माइकिङ गरी स्थानीय बासिन्दालाई सतर्क रहन तथा जोखिमको अवस्था देखिए सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेको जनाएको छ।