बालविवाह र गरिबी जित्दै उद्यमी बनेकी श्रीमाया: सयौँ गृहश्रमिक महिलाका लागि प्रेरणाको स्रोत

बालविवाह र गरिबी जित्दै उद्यमी बनेकी श्रीमाया: सयौँ गृहश्रमिक महिलाका लागि प्रेरणाको स्रोत

काठमाडौँ। जीवनमा अवसर पाएन भन्दै निराश हुनेहरूका लागि नुवाकोटकी श्रीमाया तामाङको जीवनयात्रा एउटा ठूलो प्रेरणा र हौसलाको स्रोत बनेको छ। १४ वर्षकै कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी श्रीमायाले गरिबी र पारिवारिक परिस्थितिका कारण औपचारिक शिक्षा पाउने अवसरबाट वञ्चित हुनुपरेको थियो। तर, परिस्थितिसँग हार नमानी निरन्तर सङ्घर्ष गर्दा कसरी एउटा साधारण महिला सफल उद्यमी र सामाजिक नेता बन्न सक्छिन् भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ।

परिवारको गुजारा चलाउन काठमाडौँ छिर्नुभएकी श्रीमायाले सुरुका वर्षहरूमा निकै कठिन श्रमप्रधान कामहरू गर्नुभयो। तर, सन् २००७ मा गृहश्रमिक सरोकार समाज नेपाल (HBWCSN) ले सञ्चालन गरेको ‘बौद्ध हस्तकला तालिम’ उहाँको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ बन्यो। तालिमपछि एउटा पुरानो सिलाई मेसिन र सानो कोठाबाट सुरु भएको उहाँको हस्तकला यात्राले आज नयाँ उचाइ लिएको छ।

आफ्नो दृढ इच्छाशक्ति, सीप र आत्मविश्वासका बलमा उत्पादन बढाउँदै लैजानुभएकी श्रीमाया आज बौद्ध महिला समूहको नेतृत्व गरिरहनुभएको छ। उहाँले आफू मात्र आत्मनिर्भर हुनुभएको छैन, धेरै अन्य महिलाहरूलाई पनि रोजगारी र सीपसँग जोडेर आर्थिक रूपमा सशक्त बनाउनुभएको छ। उहाँले उत्पादन गरेका हस्तकलाका सामानहरू अहिले नेपालमा मात्र नभई छिमेकी मुलुक भारतसम्म बिक्री वितरण हुने गरेका छन्।

सफल व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय श्रीमाया सन् २०१९ देखि HBWCSN को कार्यसमिति सदस्यमा निरन्तर निर्वाचित हुँदै आउनुभएको छ। हस्तकलाको माध्यमबाट आफ्नो परिवारको लालनपालन र बालबच्चाको उच्च शिक्षा सुनिश्चित गर्न सफल हुनुभएकी श्रीमाया तामाङको यो सफलताले इच्छाशक्ति र मिहिनेत भए उमेर, अशिक्षा र अभावले सफलता रोक्न सक्दैन भन्ने सन्देश दिएको छ। उहाँको यो यात्रा आज देशभरका हजारौँ गृहश्रमिक महिलाहरूका लागि स्वाभिमान र आशाको किरण बनेको छ।