“पद होइन, परिवर्तनको संकल्प : गोदावरीकी उपप्रमुख मुना अधिकारीको महिला सशक्तीकरणदेखि सामाजिक न्यायसम्मको अभियान”
उपप्रमुख मुना अधिकारीको पहल : न्यायदेखि महिला सशक्तीकरणसम्म ‘गोदावरी मोडल’
ठाँटी खबर, काठमाडौँ। स्थानीय सरकारको नेतृत्वमा जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै ललितपुरको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले न्यायिक सेवा, महिला सशक्तीकरण, विपद् व्यवस्थापन र सामाजिक रूपान्तरणका क्षेत्रमा काम अघि बढाएकी छन्।
उपप्रमुख अधिकारीका लागि पद केवल औपचारिक जिम्मेवारी पूरा गर्ने माध्यम नभई नागरिकका समस्या सुन्ने, समाधान खोज्ने र अवसरबाट पछाडि परेका समुदायलाई मूलधारमा ल्याउने जिम्मेवारीसँग जोडिएको छ। उनले स्थानीय तहमा उपप्रमुखको भूमिकालाई न्यायिक सम्पादन, राजस्व परामर्श, योजना अनुगमन र सामाजिक न्यायसँग जोडेर अघि बढाउनुपर्ने बताएकी छन्।
स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिलाई उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने महत्वपूर्ण संयन्त्रका रूपमा लिएकी छन्।
जग्गासम्बन्धी विवाद, पारिवारिक झैझगडा तथा महिला र बालबालिकासँग सम्बन्धित विभेदका विषयमा स्थानीय तहमै छलफल र मेलमिलापमार्फत समाधान खोज्ने अभ्यास भइरहेको उनले बताइन्। उनका अनुसार विवादलाई लामो समयसम्म तन्काउनुको सट्टा सम्बन्धित पक्षबीच संवाद र सहमतिको वातावरण निर्माण गर्नु न्यायिक समितिको प्राथमिकतामा रहेको छ।
महिला सशक्तीकरणलाई व्यवहारिक रूपमा अघि बढाउने उद्देश्यले गोदावरी नगरपालिकाले ‘उपप्रमुख अनौपचारिक शिक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ।
बीचमै पढाइ छाडेका महिलालाई पुनः शिक्षासँग जोड्ने उद्देश्यले सञ्चालित कार्यक्रममा हालसम्म १५० भन्दा बढी महिला आधारभूत शिक्षा हासिल गरिरहेका छन्। त्यसमध्ये ३२ जना प्लस टु र २२ जना स्नातक तहमा अध्ययनरत रहेको उपप्रमुख अधिकारीले जानकारी दिइन्।
शिक्षासँगै सीप विकासलाई पनि जोडिएको छ। हप्ताको तीन दिन सीपमूलक तालिम उपलब्ध गराएर महिलालाई आत्मनिर्भर र आयआर्जनमा सक्षम बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
हिंसा, पारिवारिक समस्या वा अन्य कारणले तत्काल आश्रय आवश्यक पर्ने महिलाका लागि नगरपालिकाले ‘महिला सुरक्षित आवास गृह’ सञ्चालनमा ल्याएको छ।
संकटमा परेका महिलालाई सुरक्षित वातावरण उपलब्ध गराउनुका साथै आवश्यक कानुनी तथा सामाजिक परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सुरक्षित आवास गृहलाई सामाजिक संरक्षणको महत्वपूर्ण आधारका रूपमा लिइएको उपप्रमुख अधिकारीले बताइन्।
विपद्का बेला स्थानीय सरकारको जिम्मेवारी आफ्नै सीमाभित्र मात्र सीमित हुँदैन भन्ने सन्देश दिँदै गोदावरी नगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिप्रति सहयोगको हात अघि बढाएको छ।
नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको तथा १४ वटै वडाबाट राहत संकलन गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन्।
त्यसैगरी प्रभावित बालबालिकाको उद्धार तथा दीर्घकालीन पुनःस्थापनाका लागि राष्ट्रिय बाल अधिकार परिषद्सँगको समन्वयमा गोदावरी–१२, ठेचोस्थित बालमन्दिरको मर्मत तथा व्यवस्थापन कार्यलाई अघि बढाइएको उनले बताइन्।
२०७३ सालमा स्थापना भएको नयाँ नगरपालिका भएकाले सीमित स्रोतसाधन, ठूलो भौगोलिक क्षेत्र र नागरिकका बढ्दो अपेक्षाबीच काम गर्न चुनौती रहेको उपप्रमुख अधिकारीले स्वीकार गरिन्।
तर चुनौतीकै बीच नगरका मुख्य सडकको स्तरोन्नति, ‘उज्यालो गोदावरी’ अभियान तथा धार्मिक–सांस्कृतिक पर्यटनको विकासलाई प्राथमिकतामा राखिएको उनले बताइन्।
सन्तानेश्वर, विशङ्खुनारायण, बज्रबाराही र गोदावरी कुण्डलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माण गरी स्थानीय पर्यटन, रोजगारी र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने दिशामा काम भइरहेको उनको भनाइ छ।
आफ्नो कार्यकालको बाँकी अवधिमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उपप्रमुख अधिकारीले व्यक्त गरेकी छन्।
उनले पदमा रहँदा मात्र नभई भविष्यमा पनि गोदावरीको विकास र सामाजिक रूपान्तरणका लागि आफू सक्रिय रहने बताएकी छन्।
‘पद एउटा जिम्मेवारी हो, तर समाजका लागि केही गर्ने भावना पदभन्दा ठूलो हो’ भन्ने सन्देशसहित उपप्रमुख अधिकारीले शिक्षा, न्याय, महिला सशक्तीकरण र सामाजिक संरक्षणलाई स्थानीय विकासको आधार बनाउने प्रयासलाई निरन्तरता दिने बताएकी छन्।



प्रतिकृया दिनुहोस्