कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने पवित्र पर्व ‘कुशे औँसी’ तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। सनातन धर्मावलम्बीहरूले वर्षभर देवकार्य तथा पितृकार्यमा आवश्यक पर्ने पवित्र कुशको पूजा गरी घर–घरमा भित्र्याएका छन्।

शास्त्रोक्त विधिअनुसार उखेलिएको कुश घरमा राख्नाले परिवारमा सुख, शान्ति र कल्याण हुने तथा आजका दिन ल्याइएको कुश वर्षभरि धार्मिक कार्यमा प्रयोग गर्न सकिने धार्मिक मान्यता छ। हिन्दू परम्परामा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा समेत मानिन्छ।

आजकै दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई आदर–सम्मानका साथ मनपर्ने मिठा परिकार तथा फलफूल खुवाएर आशीर्वाद लिने परम्परा छ। बाबु नहुनेहरूले भने विभिन्न पवित्र नदी, पोखरी तथा तीर्थस्थलमा पुगेर दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्दछन्।

यसै अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको उत्तरगयाका रूपमा प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। गोकर्णमा पुगेर दिवङ्गत पितृको नाममा श्राद्ध तथा तर्पण गर्नाले पितृको उद्धार हुने र पुण्य प्राप्त हुने जनविश्वास छ।

धार्मिक मान्यताअनुसार आजको दिन गरिएको दान, पुण्य तथा धार्मिक कर्मको विशेष महत्त्व रहने भएकाले कुशे औँसीलाई पुण्य पर्वका रूपमा मनाउने गरिन्छ। यस दिन आफ्ना जीवित बाबुप्रति सम्मान प्रकट गर्नुका साथै दिवङ्गत पितृको स्मरण र श्रद्धा गर्ने परम्परा पनि रहेको छ।