सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत

सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत

काठमाडौं, २२ भदौ। सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विपद्को संवेदनशील अवस्थामा सामाजिक सञ्जालमार्फत अफवाह र भ्रामक सामग्री फैलाउनेविरुद्ध नेपाल प्रहरीले निगरानी र कारबाही तीव्र बनाएको छ।

यसैक्रममा सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण गरेको अभियोगमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडैलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार मडैले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुसी व्यक्त गर्ने खालका भिडियो सामग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रसारण गरेका थिए।

नेपाल प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्ने, विपद्को संवेदनशील अवस्थामा पीडित व्यक्तिका विचारमाथि अनावश्यक टिप्पणी गर्दै थप पीडा दिने तथा सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको दुःखद् अवस्थामा हृदयविदारक तथा विभत्स तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा थप पीडा र त्रास फैलाउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भएर निरन्तर काम गरिरहेको बताए।

उनका अनुसार यस्ता गतिविधिले सामाजिक सहिष्णुतामा समेत आघात पुर्‍याउने भएकाले प्रहरीले त्यस्ता सामग्रीको निगरानी र नियन्त्रणलाई प्राथमिकतामा राखेको छ।

पछिल्लो तथ्यांकअनुसार सामाजिक सञ्जालमा गलत सूचना तथा अफवाहसहितका कुल १ सय ७३ वटा सामग्री प्रसारण भएको पाइएको छ। तीमध्ये फेसबुकमा १ सय ६८, टिकटकमा ४ र इन्स्टाग्राममा १ वटा सामग्री रहेका छन्।

प्रहरीका अनुसार साइबर सक्रियतामार्फत फेसबुकका ७९ र टिकटकका ४ गरी जम्मा ८३ वटा त्यस्ता सामग्री सामाजिक सञ्जालबाट हटाइएको छ।

यस्ता सामग्रीको निगरानी गरी तत्काल हटाउन तथा त्यस्ता गतिविधि नियन्त्रण गर्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ। समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधिमा संलग्न व्यक्तिको पहिचान तथा अनुसन्धान गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै कानुनी कारबाही अघि बढाउनेछ।

प्रहरी नायव उपरीक्षक आचार्यका अनुसार सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक समाचार प्रसारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति सक्रिय रूपमा परिचालित छ।

उनले अनजानमा गलत सामग्री पोस्ट वा सेयर गर्ने व्यक्तिको हकमा सामग्रीको गम्भीरता हेरी सचेत गराउने र हटाउन लगाउने गरिएको बताए।

विपद्को नाममा हुनसक्ने अपराध तथा गलत सूचना नियन्त्रणसँगै राहत संकलनका नाममा हुनसक्ने ठगी नियन्त्रणमा समेत नेपाल प्रहरीले सक्रियता बढाएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत प्रवाह हुने गलत सूचना, अफवाह तथा भ्रामक सामग्रीमाथिको निगरानीलाई थप तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने जनाएको छ।