छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं, २४ भदौ। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्।
सुनसरी, धरान उपमहानगरपालिका–८ गुँरास चोकमा प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सिटी सफारीले को.८ प ३३३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–५ बस्ने ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट, गुजरा नगरपालिका–३ सिमरी जंगलस्थित सडकमा स.३ प ७५८९ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुजरा नगरपालिका–२ बस्ने १८ वर्षीय संजय घिसिङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल, बारामा उपचारका क्रममा मृत्यु भएको हो। फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका–३ घण्टेस्थित सडकमा सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय माइते राईको मंगलबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ। उक्त ट्रकले मधेश प्रदेश ०२–०१० प ००३४ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि साजी मेडिकल, झुरझुरे, मकवानपुर पठाइएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्पा, तानसेन नगरपालिका–८ माथिल्लो डुम्रेस्थित सडकमा डुम्रेबाट प्रभासतर्फ आउँदै गरेको बा.४६ प ८७०२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मंगलबार राति दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–३ दोभान बस्ने २७ वर्षीय युवराज दर्लामीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको एलएमसी अस्पताल, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका पैदलयात्रीको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
भक्तपुर, सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित सडकमा सल्लाघारीबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प १५१२ नम्बरको मोटरसाइकल बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ सल्लाघारी बस्ने २२ वर्षीया कृषा राजभण्डारीको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
धादिङ, थाक्रे गाउँपालिका–१ खयरघारीस्थित सडकमा गल्छीबाट काठमाडौंंतर्फ जाँदै गरेको बा.५७ प ४३२२ नम्बरको मोटरसाइकल बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–५ सागिने बस्ने ३२ वर्षीय ‘मंगले’ भन्ने हरि तामाङ र मोटरसाइकलमा सवार २० वर्षीय दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको छ।
कास्की, पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित सडकमा पृथ्वीचोकबाट अमरसिंह चोकतर्फ आउँदै गरेको ना.५ ख ८२४४ नम्बरको ट्रकले ग.७ प २८२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ बस्ने २५ वर्षीय नवराज दर्जीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल, कास्कीमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिकृया दिनुहोस्