विदेशमा सिकौँ, कमाऔँ र स्वदेशमै फर्केर योगदान गरौँ : ‘लर्न, अर्न एण्ड रिटर्न’ नारासहित नेक्साको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) को दोस्रो वार्षिक साधारण सभा ‘लर्न, अर्न एण्ड रिटर्न’ अर्थात् विदेशमा सिक्ने, कमाउने र स्वदेश फर्केर योगदान गर्ने सन्देशसहित सम्पन्न भएको छ।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित कार्यक्रममा वक्ताहरूले विदेश अध्ययनलाई केवल रोजगारीको माध्यम नभई ज्ञान, सीप, प्रविधि र अनुभव हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। विदेशमा हासिल गरेको दक्षता स्वदेशमै प्रयोग गर्न सके त्यसले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनीहरूको धारणा थियो।
नेक्सा अध्यक्ष सन्तोष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपा सांसद तथा शिक्षा उपसमितिका संयोजक गणेश पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। दक्षिण कोरियामा अध्ययन पूरा गरी नेपाल फर्किएका डा. जीवन खनाल, डा. निरञ्जन कोइराला र डा. विवेक तामाङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वक्ताहरूले विदेशमा अध्ययन तथा काम गर्दाका अनुभव साझा गर्दै कामलाई सानो–ठूलो भनेर विभाजन नगर्ने संस्कार, सीपको सम्मान र आत्मनिर्भर सोच विकास गर्नुपर्ने बताए।

डा. जीवन खनालले विदेशमा हासिल गरेको ज्ञान र सीप नेपालमा प्रयोग गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै आफूले अध्ययनका क्रममा विभिन्न काम गरेर अनुभव हासिल गरेको स्मरण गरे। उनका अनुसार आत्मनिर्भरता र श्रमको सम्मानले व्यक्तिलाई थप सक्षम बनाउँछ।
डा. निरञ्जन कोइरालाले विदेश अध्ययनका क्रममा भाषा र संस्कृतिसहित विभिन्न चुनौती सामना गर्नुपरे पनि निरन्तर प्रयासबाट अवसर सिर्जना गर्न सकिने बताए। विदेशबाट फर्किएका जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण बनाउन नीतिगत सुधार र रोजगारीका अवसर विस्तारआवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, डा. विवेक तामाङले विदेश जाने क्रमलाई रोक्नेभन्दा पनि विदेशमा प्राप्त ज्ञान, सीप र अनुभवलाई स्वदेशको विकाससँग जोड्ने नीति आवश्यक रहेको बताए। नेपाललाई ‘ग्लोबल भिलेज’को बदलिँदो परिवेशअनुसार अघि बढाउँदै विदेशबाट फर्किएका युवाको क्षमता उपयोग गर्न सके मुलुकले ठूलो लाभ लिन सक्ने उनको धारणा थियो।
कार्यक्रमका प्रमुख अतिथि गणेश पौडेलले नेपाली विद्यार्थीले विश्वका उत्कृष्ट शैक्षिक संस्थाबाट ज्ञान र सीप हासिल गरी स्वदेश फर्कने वातावरण निर्माण गर्नुपर्ने बताए। नेपालमै अध्ययनसँगै आम्दानी गर्ने अवसर सिर्जना गर्न सके विदेश जाने बाध्यता समेत घटाउन सकिने उनको भनाइ थियो।
नेक्सा सल्लाहकार सिद्धि बरालले विदेशमा नेपाली विद्यार्थी तथा श्रमिकले भोगेका चुनौती र अधिकारका विषयमा भएका पहलहरू स्मरण गर्दै स्वदेश फर्किएका जनशक्तिको अनुभवलाई राष्ट्र निर्माणमा जोड्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
नेक्सा अध्यक्ष खनालले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नियमन आवश्यक भए पनि व्यवसायलाई अनावश्यक नियन्त्रण गर्ने नीति स्वीकार्य नहुने स्पष्ट पारे। विद्यार्थीको हित, व्यवसायीको जिम्मेवारी र राज्यको भूमिकालाई समान रूपमा अघि बढाउँदै सरकार, शैक्षिक परामर्शदाता र विद्यार्थीबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।
साधारण सभाले महासचिव गणेश बेल्वासेको प्रतिवेदन तथा कोषाध्यक्ष सन्दीप तिवारीको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा आजीवन सदस्य तथा साधारण सदस्यहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा सञ्चारकर्मी, शैक्षिक संस्थाका प्रतिनिधि, नेक्सासँग आबद्ध व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी संगीता कटवालले गरेकी थिइन्।
नेक्साको ‘लर्न, अर्न एण्ड रिटर्न’ अभियानले विदेश जाने युवालाई रोक्नेभन्दा पनि विदेशबाट ज्ञान, सीप र अनुभव लिएर स्वदेश फर्किएर राष्ट्र निर्माणमा योगदान गर्ने वातावरण बनाउनुपर्ने सकारात्मक सन्देश दिएको छ।
विदेशमा सिकेको सीप, स्वदेशको विकासमा प्रयोग—यही हो समृद्धिको नयाँ बाटो।
(तस्बिर : रमेश लामिछाने)



प्रतिकृया दिनुहोस्