पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी — काठमाडौंमा महिला पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै ५ लाख ठगी — काठमाडौंमा महिला पक्राउ

काठमाडौं, आकर्षक तलबको सपना देखाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका–१० बसोबास गर्दै आएकी ४७ वर्षीया कुमारी मगर तामाङलाई प्रहरीले बिहीबार काठमाडौं–१४ बाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, तामाङले “पोर्चुगलमा उच्च तलबको जागिर” दिलाइदिने प्रलोभन देखाउँदै एक जना पीडितबाट ५ लाख रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्। पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

अहिले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ।