अमेरिकामा नेपाली व्यवसायीहरूको ठूलो सफलता: उत्तर क्यारोलाइनामा २ करोड ३० लाख डलरको चेन होटल सञ्चालनमा

अमेरिकामा नेपाली व्यवसायीहरूको ठूलो सफलता: उत्तर क्यारोलाइनामा २ करोड ३० लाख डलरको चेन होटल सञ्चालनमा

अमेरिकाको उत्तर क्यारोलाइना राज्यमा नेपाली व्यवसायीहरूको समूहले ठूलो लगानीमा प्रसिद्ध अमेरिकी चेन होटल सञ्चालनमा ल्याएको छ। उत्तर क्यारोलाइनाको मेबेन शहरमा हालै आयोजित एक विशेष समारोहबीच ‘लाकिन्ता इन एन्ड हनथ्रोन एक्स्टेन्डेड स्टे’ होटलको औपचारिक उद्घाटन गरिएको हो।

२ करोड ३० लाख अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँभन्दा बढी) को लागतमा निर्माण भएको यो १०३ कोठाको अत्याधुनिक होटलबाट एकै भवन अन्तर्गत दुईवटा प्रतिष्ठित ब्रान्डहरू सञ्चालनमा आएका छन्।

अलामान्स चेम्बरको आयोजनामा सम्पन्न उद्घाटन समारोहमा गैरआवासीय नेपाली व्यवसायीहरू सुमित सञ्जेल, सुधीर मरहठ्ठा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेर होटलको औपचारिक शुभारम्भ गरेका हुन्। कार्यक्रममा स्थानीय अमेरिकी अधिकारीहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै लगानीकर्ता राधेश पण्डितले जग्गा खरिददेखि लिएर विभिन्न कानुनी अनुमति र निर्माण कार्य पूरा गरी उद्घाटनको चरणसम्म आइपुग्न करिब आठ वर्षको लामो समय लागेको अनुभव साझा गरे। यो परियोजना उनीहरूको समूहको स्वामित्व र व्यवस्थापनमा सञ्चालित आठौं होटल हो। त्यसैगरी, अर्का लगानीकर्ता सुमित सञ्जेलले होटल सञ्चालनमा आएसँगै पाहुनाहरूबाट निकै नै उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।

उद्घाटन कार्यक्रममा अलामान्स चेम्बरकी अध्यक्ष रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन र मेबेनका मेयर एड हुक्स लगायतका स्थानीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले नेपाली समुदायको यो नयाँ र ठूलो लगानीको खुलेर प्रशंसा गर्दै यसले स्थानीय अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो समय अनुकुल हावापानी, गुणस्तरीय शिक्षा र रोजगारीका अवसरहरूका कारण उत्तर क्यारोलाइनामा नेपालीहरूको जनसङ्ख्या मात्र नभई व्यावसायिक लगानीसमेत तीव्र गतिमा विस्तार भइरहेको छ। यो होटल परियोजनालाई अमेरिकामा नेपालीहरूको बढ्दो व्यावसायिक प्रभाव र सफलताको एक बलियो उदाहरणको रूपमा लिइएको छ। तस्बिर तथा समाचार स्रोत: राज कार्की (प्रमोटर डाइरेक्टर, मिडिया ठाँटी)