आईपीयू महासभामा नेपालको आवाज उठाउँदै सभामुख अर्याल, जलवायु र विपद्को मुद्दा प्राथमिकतामा

आईपीयू महासभामा नेपालको आवाज उठाउँदै सभामुख अर्याल, जलवायु र विपद्को मुद्दा प्राथमिकतामा

काठमाडौं, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गर्ने भएका छन्। महासभामा नेपालले पछिल्लो समय भोगिरहेका प्राकृतिक विपद्, जलवायु परिवर्तनका असर तथा जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरिएको छ।

सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुनेछन्। तान्जानियाको अरुसामा हुने कार्यक्रममा विभिन्न देशका सभामुख तथा सांसदहरूको सहभागिता रहनेछ।

महासभामा नेपालका तर्फबाट ‘इमर्जेन्सी एजेन्डा’ प्रस्तुत गर्ने तयारी गरिएको सभामुख अर्यालले बताएका छन्। उक्त प्रस्तावमार्फत नेपालमा जलवायु परिवर्तनका कारण देखिएका असर, पछिल्ला प्राकृतिक विपद्बाट भएको क्षति तथा त्यसबाट उत्पन्न चुनौतीलाई अन्तर्राष्ट्रिय संसदीय बहसमा लैजाने प्रयास गरिनेछ।

प्रस्तावका लागि आवश्यक समर्थन जुटाउन परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग समन्वय भइरहेको अर्यालले जानकारी दिएका छन्। प्रस्ताव स्वीकृत भएमा त्यसलाई महासभाको व्यापक छलफलमा लैजाने तयारीसमेत रहेको बताइएको छ।

नेपालको सङ्घीय संसद्मा युवा सहभागिताको अवस्थालाई समेत अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी छ। सभामुख अर्यालका अनुसार संसद्मा ४० वर्षभन्दा कम उमेर समूहको उल्लेख्य प्रतिनिधित्व रहेको विषयलाई पनि महासभामा उठाइनेछ।

यसै क्रममा सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका विषयमा विश्वका सभामुख तथा सांसदहरूको ध्यानाकर्षण गराउने बताएका छन्। नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनका असरबाट ठूलो क्षति व्यहोर्नुपरेको विषयलाई अन्तर्राष्ट्रिय बहसमा लैजाने उनको भनाइ छ।

आईपीयू महासभामा सहभागी हुनुअघि सभामुख अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरेका थिए। भेटमा महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।