एआइआइबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले कतार प्रस्थान
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (AIIB) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। बैठकमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले आज साँझ कतार उड्नुभएको हो।
प्रतिनिधिमण्डलमा अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि सहभागी हुनुहुन्छ। ११औँ वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्स सत्रलाई सम्बोधन गर्दै बहुपक्षीय सहयोग तथा वैदेशिक लगानी परिचालनका विषयमा छलफल गर्नुहुनेछ।
मन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा विशेष गरी नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन पहल गरिनेछ।
दोहा भ्रमणका क्रममा अर्थमन्त्रीले एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको छ।
वार्षिक बैठक र निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किनेछ।



प्रतिकृया दिनुहोस्