“मैतमाया उर्फ म्याक्स” २६ वर्ष पछि भेटिएकी बाल्यकालकी साथी ✍🏻✍🏻 अधिवत्ता प्रतिमा कार्की
“मैतमाया उर्फ म्याक्स”
२६ वर्ष पछि भेटिएकी बाल्यकालकी साथी
म एउटा राजनैतिक संगठनको अधिवेशनको तयारीका लागि पुतलीसडकको कार्यालय पुगेको थिएँ। उही, एक हप्ता अघिदेखिको कार्यक्रमको तयारीको व्यस्तता भिडभाड र चहपहल निकै नै थियो कार्यालयमा त्यही भीडमा लेबीको ट्यली गरिरहनु भएकी एकजना म्यामले मलाई हेरेर भन्नुभयो , “तपाईं प्रीति हैन? पोहोरको टोखाको कार्यक्रममा सँगै बसेका थियौँ नि!”
मैले ध्यान दिएर हेरें। चिने झैं पनि लाग्यो, नचिने झैं पनि। उहाँले फेरि भन्नुभयो, “हजुर धनकुटामा पढ्नु भएको हैन?” अस्तिको कुराकानी सम्झँदै भन्नुभयो, “म पनि धनकुटाको प्रतिनिधि हुदै आएको अधिवेशनमा आएकोनि।”
मैले स्मरण गर्दै भनेँ, “हो, पोहोरको कार्यक्रमा तपाईंले राम्रो साडी लगाउनु भएको थियो,तपाई गित कविता नि लेख्नुहुन्छ हैन ‘गिता म्याम‘ सम्झिएँ।” त्यसपछि हाम्रो औपचारिक गफ सुरु भयो। ल्यापटप खोली सँगै अधिवेशनको काम पनि सुरु गर्यौं।
बिचमा मैले भनेँ, “ म्याम, म अस्ती २६ वर्ष पछी धनकुटा पुगेर आएको नि,गोकुण्डेश्वर स्कुल, हाटबजार, माथिल्लो कोप्चे, तल्लो कोप्चे म बसेकोअदातलकको क्वाटर सबै तिर पुगेँ।” म्यामले एक्कासी सोध्नुभयो, “तपाईंको को-को साथी थिए त्यहाँ?”
मैले मनमनै सोचें—उहाँ र मेरो उमेर फरक भएकोले एउटै साथी हुनुको सम्भावना मात्र पनि नहोला। फेरि पनि किन सोधेको होला । वँहाले प्रश्नले मनमा एउटी साथी मात्र सम्झनामा झल्झली आइन् — मैतमाया राई, “मैतु”।
बाल्यकालको उज्यालो सम्झना – मेरी मैतू
मेरो आँखाको वरिपरि मैतमाया घुम्न थालिन् चिम्सो आँखा, सानो फुच्ची डल्ली केटी, फुरफुरे जामा लगाउने, थाइकट कपाल, अगाडि अल्का कट काटेकी, नजानिँदो हाँसोको स्पन्दनसहितको उनको मुहार सदैव झलल उज्यालो।
हामी ९/१० वर्षका थियौं, बाल्यकालको मिठो चञ्चलतामा रमाइरहेका, स्कुलको कक्षा ६ कक्षामा सँगै पढ्ने साना नाजुक मनहरू। उनी धनकुटाकी रैथाने राई थिइन् भने म काठमाडौंको स्थानीय, धनकुटामा मेरा हजुरबुबा पुनरावेदन अदालतका न्यायाधीश हुनुहुन्थ्यो। द्वन्द्वकालका कारण मलाई गोकर्णेश्वरको साधारण सरकारी स्कुलमा भर्ना गरिएको थियो र त्यही स्कुलमा मैतु मेरी सानी साथी भइन्। मेरो बसाई धनकुटाकोअदालत क्वाटरमा २ वर्ष बितेको थियो ।
स्कुलको धेरै सम्झना छैन, तर उनि सित बिताएका केही पलहरु अझै ताजा छन् ।उनी मलाई भेट्न, खेल्न म बस्ने अदालतको क्वार्टरमा आइपुग्थिन्, त्यो पनि बजारभन्दा परको उनको गाउँबाट, एक्लै हिँडेर। सुरक्षा गार्ड चिरेर म उनलाई लिन क्वार्टरको गेटसम्म जान्थे ।मेरो हजुरआमाले पनि मैतुलाई निकै माया गर्नुहुन्थ्यो। मलाई अरू साथीहरुको घर जान मनाही थियो । तर उनी अपवाद थिइन् उनको घर बजार भन्दा टाढा भए पनि खुशीसाथ जान्थे उनी सित रमाउदै खेल्दै मिठो बाल्यकालमा थिएँ ।
सानो गाउँले माटोको घर, अगाडि लटरम्म फलेको कटहरको बोट, छेउमा सुगुरको खोर, चार दिदीबहिनी, दुई भाइसहितको परिवारमा जन्मेकी उनी। पारिवारिक अवस्था सामान्य भए पनि त्यो घरको सादगी, शीतलता अनि आत्मीयताले मन छोथ्यो।
उनी कहिलेकाहीँ मलाई उनको घर भन्दा अलिपर सल्लाको जंगलसम्म लैजान्थिन्, जहाँ हामी चिप्लेटी खेल्थ्यौं, रूख चढ्थ्यौं, हाँस्थ्यौं, रमाउँथ्यौं। सानी भए पनि उनी निकै सुरी थिइन्, उनीसँगै हुँदा मलाई कहिल्यै डर लाग्दैनथ्यो, बरु सुरक्षा महसुस हुन्थ्यो।
त्यो उमेरमा हामीलाई जात, धर्म, पद, प्रतिष्ठा, धन–यी कुनै कुरा थाहा थिएन, थाहा थियो त केवल मनको माया, निस्वार्थ, निष्कलंक र शुद्ध बालस्नेह। उनका धेरै सम्झनाहरू समयसँगै ओझेल परेता पनि केही यस्ताअमिट याद छन्, जसले अझै पनि मेरो मनभित्र गाँठो परेर बास बसिरहेका छन्।
२६ वर्षको दूरी पार गरेर पनि जसको मित्रताको मिठास झल्किरहन्छ, जसलेसम्झनाले मलाई झस्काई रहन्थो त्यही चिम्सो आँखाकी, थाइकट फुच्ची मेरी सानी मैतु फेरी आँखामा नाच्न थालिन । मैले गिता म्यामलाई भनेँ, “ मेरो सम्झनामा त एउटा मात्र मुहार याद छ म्याम मैतमाया राई, “मैतु”।
म्याम मुस्काउँदै भन्नुभयो, “मैतमाया… मैतु हो नि, उही डल्ली डल्ली फुच्ची! उहिले मेरो एन.जि.यो.को अफिसमै काम गर्थिन्। दिदीबहिनीहरू धेरै थिए।एउटा बहिनीले त सोसाईड पनि गरियो नि तर मैतु धेरै बालियो केटी बाठी थिईन धेरै मेहनति पनि । अहिले त अमेरिका गएकी छन्। पख्नुस्, उ त मेरो फेसबुकमै छिन, म देखाउँछु नि!” पक्कै पनि तपाईको साथी होलिन् । म चुप लागें, तर मनभित्र कताकता हलचल मच्चियो कतै उनी नै त होइनन्। त्यो मेरी प्यारी साथी मैतु मनमा खुशी र आशा एकसाथ पलाउन थाल्यो, आकाशमा चंगा उडाएजस्तो त्यो क्षण, न त भुइँमा थिएँ, न गगनमा,
म्यामले मेरो फोटो खिचेर म्याक्स नामको फेसबुक प्रोफाइलमा पठाउनुभयो—” तिम्रो गोकर्णेश्वर उनको प्रोफाइल खोलें मेरो फेसबुकमा सामान्य नाम “Max”, तर रहस्यमयी छायाँझैं लाग्ने। अझै शंका थियो, तर मन पत्याइरहेको थियो।
प्रोफाइलको कभर फोटो हेर्दा एक अमेरिकी युनिभर्सिटीको कन्भोकेशन तस्बिर—शालीन पोशाक, हातमा डिग्री, अनुहारमा आत्मविश्वास, तर आँखामा अझै पनि बाल्यकालको चंचलता बोकेको अनुहार परिपक्क, यौवनमा भरिएको, तर ती चिम्सिएका आँखा, अल्का कट कपाल, अनि त्यो भित्री सौम्यता जसले मेरी मैतुको सम्झना एकाएक ताजा बनायो।
आँट गरेर सन्देश पठाएँ—”हलो, तपाईं मैतमाया राई हो? माथिल्लो गोकर्णेश्वरमा पढ्नुभएको हो म प्रतिमा कार्की म पनि त्यही पढेको“ मेरो फेसबुकमा प्रिति भएकोले आफ्नो परिचय पनि खुलाए । मन हर्ष र संशयको दोधारमा थर्किरहेको थियो।
म सदा झै दिन भरी आफ्नो अदालत र अफिसको काम सकेर बेलुका अधिवेशनको तयारीमा पनि समय दिदाँ थकित शरीर बोकेर घर फर्किएँ।बेला बेलामा उनको म्यासेस आयो कि भनेर मोबाईल पनि हात मै खेलाईनै रहेको थिए ।
सामाजिक सञ्जालमा भेट
साँझ छोरोसँगै बसेर तातो मूँगको रोटी र अचार खाना खाँदै थिएँ—, अचानक मोबाइलको फेसबुकमा कल आयो, “Max” बाट मुटु छट्पटाएर आयो, हात जुरुक्क उठ्यो, शरीरमा तरङ्ग दौडियो रोटी हातमा, आँखामा उनी भेटिने आशा, र मनभित्र २६ वर्ष पुरानो प्रतिक्षा झरझर उनलाई भेट्ने आशामा बग्न थाल्यो “उनी नै होलिन्!”
खाना मुखमै थियो, तर मन त मोबाइलको पर्दामा अड्किएको सास रोकिएजस्तो। झुठ्ठो हातले फोन समातेँ, र त्यो बटन थिचेँ भिडियो कल…
अनि त्यसपछिको क्षण२६ वर्षको अन्तराल एकैछिनमा भत्किएको जस्तो लाग्यो। एक्कासी उनलाई मोबाइलमा देख्दा सपना हो कि विपना, म आफैँ छक्क भएँ। दङ्ग के के भयो। स्क्रिनमा देखिएको त्यो अनुहार उही थियोत्यही डल्ली केटी, सानो अनुहारभरी चिम्सिएको हाँसो, अनि सम्झनामा सधैं बाँचिरहेकी बालसखी तर ठूली मैतु। आँखा अझै पनि उस्तै बोल्ने, कपालको स्टाईलमा उही पुरानो बानी, तर अनुहारमा थियो एउटा परिपक्वताको उज्यालो विदेशको जीवनले खारिएको तेज।
म चुपचाप थिएँ, बोल्न सकिरहेको थिइनँ। शब्दहरू कण्ठमै अड्किए, र मन गह्रौं भइसकेको थियो। तर उनी बोलिन्—”प्रतिमा, मैले तिमीलाई कति खोजेँ… थाहा छ म तिम्रो साथी मैतु ? तिमीले मलाई निलो आँखा भएको डल दिएको थियौ नि…..मैले तिमीलाई रुमालको चिनो दिएरको थिए तिमी र म छूट्टिदा याद छ? तिमीलाई विदाई गरेर घर आए पछि म कति रोएँ मेरो साथी मलाई छोडेर जाने भयो भनेर” उनका शब्दहरू यति मिठा थिए अनि उनलाई मलाई जस्तै हाम्रो मित्रता अझै सम्म याद रहेछ भनेर आँखाको कुना रसाउन सुरु गर्यो।
निलो आँखा भएकी डल र मैतु
फेरी मेरो निलो आँखा भएको डल सम्झनामा आयो।त्यो नीलो आँखा भएको डल सम्झिएँ ।सुत्दा आँखा बन्द हुने, उठ्दा खुल्ने मेरो पहिलो साथी।
त्यो डल मेरो बाल्यकालको अभिन्न अंश थियो।मैले काठमाण्डौँबाट बाबा सित मगाएको मेरो पहिलो खेलैना।मसँग अरु केही थिएन अदालतको क्वाटरमा एक्लै रमाउनु बाहेक कहिल्यै मन खोलेर खेल्ने साथीहरू सम्म पनि भएन।म स्कुल बाहेक खासै कहीँ जान पनि न नमिल्ने सायद सुरक्षाको लागी होला ।क्वाटरमा टिभी थियो काठको त्यो ताल्चा लगाएर दराजमा राखिन्थो।
घर सहयोगी दिदीदाई थिए तर साथी थिएन। म एक्लै तल बारीका गएर डिलमा गएर आरुको बोटमा झुडिएर खेल्थे।एक्लो अदालतको क्वार्टर, शान्त बारी, र त्यो गुडिया जसलाई म गफ दिन्थेँ, कथा भन्देँ, खेल्थेँ सुत्थेँ।मैतु आइन् भने मात्रै मसँग कोही हुन्थे, नत्र डल नै मेरोसाथी।
समय क्रम बितै गयो हाम्रो मित्रता पनि गाढा हुदै गयो।एक दिन हजुरबुबाले भन्नुभयो हाम्रो सरुवा भयो।अब हामी सुर्खेत जानुपर्छ।जिन्दगी फेरि अर्को सहर तिर मोडिन लाग्यो। जुम्ला जनकपुर, डोटी कञ्चनपुर, धनकुटा हुँदै अब सुर्खेत… सहर तिर गएको थियो ।
सधैँ शहर फेरिदा मन पनि नयाँ ठाउँ, नयाँ साथीहरू, नयाँ स्कूल पाउने लोभले आतुर हुने मन। तर यो पटक भारी थियो किनभने यसपालि अलि बुझ्ने भएर होला।अब मेरो प्यारी साथी मैतु छोड्नुपर्ने भयो। मन साँच्चै नमज्जा भयो। हामी धनकुटा छोड्नु केही दिन अघि मैतु मलाई भेट्न आइन।कुरुसले बुनेकोरुमाल बोकेर हाम्रो क्वाटरमा। मैले उनको चिनो लिदै सोच्न थाले मैले के दिने चिनो उनलाई।
मसँग त केवल डल थियो । जुन मलाई एकदमै प्यारो थियो। मेरो प्यारो डललाई मैले मुटु बाँधेर मैतुलाई चिनो दिए। बाल्यकालमा आफ्नो सानो सानो कुरा पनि साँच्चै ठूलो लाग्दो रहेछ। यसरी विदाइ भयो मेरो उनीसित। उनी त्यो बेला उनी रोईन की रोईन मैले देखिन तर मैले दिएको डल काखी च्यापेर लुरुलुरु तल गेटतिर लागेको म माथि डिलबाट हेरिरहेँ ।
२६ वर्ष पछि धनकुटा
समय बित्दै गयो।म सुर्खेत, बुटवल जिल्लाको स्कुल फेरिँदै काठमाडौँ आएर कलेज पढेँ। कति साथीहरू बन्दै गए, छुटिँदै गए।तर उनी सधैं मेरो मनमा थिइन्। बेला बेला याद आउने —उनी कस्ती भइन् होला? उनको परिवार, घर कस्तो भयो होला? कता पुगिन् होला? यो जुनीमा भेट्छु कि नाइँ? समय बित्दै गयो।मेरो पनि बिहे, बच्चा भयो। उमेर समय ढल्दै गयो। तर मैले मैतुलाई सम्झन छोडेको थिइनँ।
यही २ महिना अगाडि धनकुटा पुगेको थिएँ।म बस्ने न्यायाधीश क्वाटरमाथिल्लो कोप्चे, तल्लो कोप्चे, हाटबजार, स्कूल सबै हेरेर मन भारी भएको थियो।त्योभन्दा पनि भारी मैले मैतुलाई सम्झेर भएको थियो।न मलाई उनको घर जाने न बाटो याद छ मलाई न उनको ठेगाना लिनु पर्छ भन्ने बुद्धि नै थियो बाल्यकालमा।
यही कुरामा दुख थियो किन मैले उनको ठेगाना किन लिइन होला! उनको यादधनकुटा बसाई भरी बेसरी आयो।उनलाई फेरी भेट्ने आशा अझै मनको कुनामा रहिरेको थियो।
मैतुको खोजी ,प्रतिमा उर्फ प्रिति
उनी फेरि बोल्दै गईन्। “प्रतिमा, तिमी त त्यो बेलाको पुनरावेदनको न्यायाधीशको नातिनी! तिमी त अमेरिका, अष्ट्रेलिया गयौ कि भनेर नेपालमा त खोजिन। जब म अमेरिका आएँ, मैले यहाँ पनि प्रतिमा कार्की को नामको कोही छ भनेर कति जनालाई सोधेँ।
मैले तिमीलाई फेसबुकमा कति खोजेँ।तिमीलाई भेट्छु भनेरै २०१२ मा फेसबुक अरूलाई नै खोल्न लगाएर तिमी त्यो बेलादेखि खोजिरहेको छु। मैले ‘प्रतिमा कार्की युके, ‘प्रतिमा कार्की अष्ट्रेलिया भनेर कति देशहरू खोजेँ। अनि ३-४ महिना अगाडि बहिनीलाई भेट्न युके गएको थिएँ। त्यहाँ पनि नेपाली पुरानो दिदिलाई भेटेर सोधेँ—प्रतिमा नामको कोही छ? भन्नुभयो‘यहाँ छैन।‘ भन्नुभयो ।
युकेको एउटा स्टेट गएको म अर्को स्टेटमा पो छैन कि भनेर पनि मनमा आयो। कति सम्झेँ, कति खोजेँ—त्यो मलाई मात्र थाहा छ कि भगवानलाई। पृथ्वी गोलो रहेछ। आखिर हामीलाई भगवानले भेटाएरै छाड्नु भयो।”
म कति खुसी छु आज! म त भात पनि खान्न होला आज! उनले भनि। उनकोआँखामा खुसीको आँसु छल्किरहेको थियो। मैले यति सुनेपछि मन झन् भारी भयो। उनले पनि मलाई कति सम्झेकी रहिछन्, कति खोजेकी रहिछन्! मैले भने, ‘तिमीलाई देखेर मलाई त कस्तो रुन मन लाग्यो‘। उनको माया र यादयति गहिरो रहेछ कि उनी भेट्दा मलाई मेरो ठुलो सपना पूरा भएको जस्तोलागिरहेको थियो।
अनि हामीले पारिवारिक हालखबर सोध्यौँ।मैले उनलाई फेरि सोधेँ, “तिमी अहिले हाइटको भयौ नि?”
“४ ईन्च त बढेकी छु होला। तिमी नि?”
“म ५.५।”हाम्रो गफ यस्तै रमाइलो ढंगमा चल्दै थियो।
मलाई उनी कसरी अमेरिका पुगिन् भन्ने जान्न मन लाग्यो।
“तिमी कसरी पुग्यौ नि त्यहाँ?”
उन अमेरिको कथा सुनाउन थालिन् ।
मलाई डीभी पर्यो नि । थाहा छ, म धनकुटाको त्यही गीता म्यामको एनजिओमा काम गर्थें। पढाइभन्दा पनि काम गर्नुपर्ने बाध्यता थियो—पारिवारिक जिम्मेवारीले गर्दा। बिस्तारै भाइबहिनीलाई छोडेर काठमाडौं आएँ। विदेश जाने सोच थियो। त्यसैले फिनल्यान्ड जान तयारी गर्दै थिएँ। IELTS गरेँ—त्यही क्लासमा मेरो अहिलेको श्रीमान् पनि भेटेको। मेरो ५.५ मात्रै आयो। सरकारी स्कुलको के नै आउँछ र! उहाँको राम्रो नम्बर आयो, उहाँ फिनल्यान्ड जानुभयो। मेरो विदेश जाने सपना तुहियो।
तर त्यसको ठीक ६ महिनापछि मलाई डीभी पर्यो। मेरो कोही थिएन अमेरिकामा। कहिल्यै कतै बाहिर नगएकी म, एक्लै अमेरिका पुगें। के कति संघर्ष गरेँ, पछि भन्नु ला।
अनि मैले यहाँको युनिभर्सिटीबाट ग्र्याजुएट पनि गरेकी। बाबु त तीन महिनाको हुँदा नै सकेकी नि! त्यसबेलाको फोटो तिमीले हेरेर चिनेको होला नि।” पछि म पढ्न जान खोजेको जुन युनिभर्सिटी फिनल्यान्ड थियो, त्यो स्कूल पनि हेरेर आएँ।
मैले फेरि सोधेँ, “तिमी खुशी छौ नि? दुःख त छैन?”
उनले भनी, “अहिले त खुशी छु। पहिले त धेरै दुःख पाएको नि। के के काम गरिनँ र! सुरुमा कफी बनाउने काम, कोही नचिन्ने, भाषा केही नबुझ्ने! पछि क्यासियरको। अहिले म त्यही कम्पनीको एकाउन्ट विभागकी म्यानेजर छु। म अन्डर १०० जना काम गर्छन्। ग्र्याजुएट भएपछि त्यो पद पाएकी।
उनले फेरी थपिन् ।तिमी यता आए भने म सबै स्पोन्सर गर्छु ल! मेरो त कोही थिएन नि।” म सोच परे ।आजभोलि आफ्नै रगतका नातेदारहरूले त विदेशमा सहयोग माग्लान् कि भनेर मुन्टो बटार्छन्। उनी त खुलेर सहयोगको प्रस्ताव गरिरहेकी थिइन्।
फेरि भनिन्, “डीभी भर्न ल, मेरो लागि भए नि भर ल है। पर्छ, आउन।”
उनले फेरि एउटा आशा थपिन्।
“हुन्छ, पक्का भर्छु,” मैले भनेँ।
“नेपाल कहिले आउँछौ?” सोधेँ।
“दशैंमा आउँछु,” उनले भनिन्।
यो सुनेर मलाई धेरै खुशी लाग्यो।छिट्टै नेपाल आउँदैछिन् उनी।
मैले भनेँ, “म त तिमीलाई एअरपोर्टमै लिन आउँछु ल! अनि काठमाडौं बसुँ जेल मसित नै बस न।”
२६ वर्ष पछि आज उनी स्क्रिनमा थिइन्। म फेरि बालकजस्तै अनुभूति गरिरहेछु।
हाम्रो त्यो सानो डल, त्यो सानो स्नेह आज यति विशाल बनेको छ।
सानो ञ१मिठो सम्झना,
✍🏻✍🏻 अधिवत्ता प्रतिमा कार्की



प्रतिकृया दिनुहोस्