काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार

काठमाडौँबाट सुरु भयो दक्षिण एसियाली युवा जागरण: ‘साया’ को उद्घाटनसँगै प्रादेशिक शान्ति अभियान विस्तार

काठमाडौँ, मङ्सिर ६ (ठाँटी खबर) — ‘वसुधैव कुटुम्बकम’ (विश्व एउटै परिवार हो) र ‘शान्ति निर्माणमा हातेमालो, दक्षिण एसियाको नयाँ पुस्ता’ (Connecting South Asia’s Next Generation of Peacebuilders) भन्ने मूल नाराका साथ ‘साउथ एसियन युथ एलायन्स’ (SAYA) को औपचारिक शुभारम्भ समारोह शनिबार काठमाडौँको नक्सालस्थित पिस एम्बेसी भवनमा भव्यताका साथ सम्पन्न भएको छ। दक्षिण एसियाका विभिन्न मुलुकका युवा प्रतिनिधि, सांसद, कूटनीतिज्ञ, शिक्षाविद्, कलाकार तथा नागरिक समाजका अगुवाहरूको बृहत् उपस्थितिमा सम्पन्न उक्त समारोहले क्षेत्रीय शान्ति, जलवायु न्याय र अन्तर्राष्ट्रिय सद्भाव प्रवर्द्धनमा नयाँ आयाम थपेको छ।

ऐतिहासिक सन्दर्भ र शान्ति स्थापनाको संकल्प नेपालको विस्तृत शान्ति सम्झौता (माओवादी द्वन्द्वकालको अन्त्य) भएको ऐतिहासिक दिनको संयोग पारेर आयोजित यस समारोहले विगतका द्वन्द्व र विभाजनबाट माथि उठ्दै दिगो शान्ति निर्माण गर्ने सन्देश प्रवाह गरेको छ। साथै, विश्व शान्ति अभियानका संस्थापक डा. सुन म्युङ मुन र डा. हाक जा हान मुनको नेपाल आगमन तथा शान्ति दर्शनको स्मरण गर्दै युथ एन्ड स्टुडेन्ट्स फर पिस (YSP) र युनिभर्सल पिस फेडेरेसन (UPF) को पहलमा दक्षिण एसियाली युवाहरूलाई एउटै मञ्चमा गोलबन्द गरिएको हो।

समारोहको औपचारिक सुरुवात र स्वागत मन्तव्य चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता कीर्ति भट्टराई को उद्घोषणमा सुरु भएको समारोहमा विशिष्ट अतिथिहरूलाई पुष्पगुच्छा र रुद्राक्षको मालाले सम्मान गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्टरनेसनल एसोसिएसन अफ युथ एन्ड स्टुडेन्ट्स फर पिस (IAYSP) नेपालका राष्ट्रिय अध्यक्ष योगेन्द्र वाग्ले ले दक्षिण एसियाका युवाहरूबीचको एकता, नैतिक नेतृत्व र साझा भविष्य निर्माणका लागि ‘साया’ को स्थापना कोसेढुङ्गा साबित हुने बताउनुभयो। सोही अवसरमा बाल कलाकार हिमानी नेपाल ले प्रस्तुत गरेको परम्परागत कुमारी नृत्यले नेपालको मौलिक कला र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय अतिथिहरूमाझ उजागर गरेको थियो।

समारोहको अवधारणा, दीप प्रज्वलन र युवा प्रतिज्ञा समारोहका मुख्य परिकल्पनाकार तथा पिस मास्टर कृष्ण अधिकारी (दक्षिण एसिया क्षेत्रीय निर्देशक तथा एफएफडब्ल्युपियु नेपालका राष्ट्रिय अध्यक्ष) ले ‘साया’ को दीर्घकालीन दृष्टिकोण (भिजन) प्रस्तुत गर्दै दक्षिण एसियाको युवा ऊर्जालाई द्वन्द्व र निराशाबाट निकालेर शान्ति र सिर्जनात्मक नेतृत्वतर्फ डोऱ्याउन आवश्यक रहेको स्पष्ट पार्नुभयो। समारोहमा रेभरेन्ड युताका यामादा (एसिया प्यासिफिक महादेशीय निर्देशक) ले विशेष भिडियो सन्देशमार्फत विगतका द्वन्द्वले होइन, आजको युवा पुस्ताको सपना र कर्मले दक्षिण एसियाको भविष्य निर्धारण गर्ने उल्लेख गर्दै ‘वसुधैव कुटुम्बकम’ को भावनालाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो। सोही क्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूबाट सामूहिक दीप प्रज्वलन गरिनुका साथै चित्रबहादुर डाँगी र शिन ह्ये खड्का को अगुवाइमा उपस्थित सम्पूर्ण युवाहरूले शान्ति, मित्रता र पर्यावरण संरक्षणमा समर्पित रहने सामूहिक प्रतिज्ञा (SAYA Pledge) वाचन गरेका थिए।

उद्घाटन सम्बोधन र दक्षिण एसियाली युवाहरूको ऐक्यबद्धता समारोहको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ‘साया’ का अध्यक्ष एवं भारतको लोकसभा सदस्य माननीय डा. इन्द्रहाङ सुब्बा ले विश्वको करिब २५ प्रतिशत जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसियामा ‘डेमोग्राफिक डिभिडेन्ड’ (युवा जनसङ्ख्याको लाभ) को अथाह सम्भावना रहेको बताउनुभयो। गरिबी, असमानता र द्वन्द्वजस्ता साझा चुनौतीहरू चिर्न नेतृत्व, नीति र युवा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उहाँको भनाइ थियो। समारोहमा भुटानको प्रतिनिधित्व गर्दै इसिमोड (ICIMOD) मा कार्यरत कर्मा देछेन, भारतको युवा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मनोज कुमार र सुधांशु राज, तथा पाकिस्तानका राजा सोएब वाही ले आ-आफ्नो मुलुकको तर्फबाट ऐक्यबद्धता मन्तव्य राख्दै जलवायु सङ्कट समाधान र क्षेत्रीय सद्भावका लागि युवाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।

विशेष मन्तव्य, कूटनीतिक दृष्टिकोण र शान्तिदूत सम्मान समारोहमा विशेष वक्ताका रूपमा आमन्त्रित चर्चित नेपाली चलचित्र अभिनेता तथा निर्देशक निखिल उप्रेती ले युवापुस्तालाई सकारात्मक सोच, आत्मबल र सामाजिक रूपान्तरणको संवाहक बन्न प्रेरित गर्दै कला र सिर्जनामार्फत शान्ति प्रवर्द्धन गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। त्यसैगरी, अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत तथा नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष महेशराज दाहाल ले नेपालको शान्ति प्रक्रिया र कूटनीतिक अनुभव साझा गर्दै ‘साया’ को स्थापनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको शान्तिप्रिय छविलाई अझ उचाइमा पुऱ्याउने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता, निर्देशक तथा निर्माता कृष्ण मल्ल, पशुपति बहुमुखी क्याम्पसका प्रमुख डा. विनोदचन्द्र पन्त र बर्दियाको बाँसगढी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खड्का लाई ‘एम्बेसडर फर पिस’ (शान्तिदूत) को सम्मान प्रदान गरिएको छ। सम्मान ग्रहणपछि मन्तव्य राख्दै वरिष्ठ कलाकार कृष्ण मल्ल लगायतका व्यक्तित्वहरूले समाजमा नैतिक मूल्य, कला, संस्कृति र शान्ति स्थापनाका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभएको छ।

विशिष्ट अतिथिहरूको शुभकामना र प्रादेशिक समिति विस्तार समारोहमा प्रतिनिधिसभा सदस्यहरू माननीय भरतबहादुर खड्का (सभापति, सार्वजनिक लेखा समिति), माननीय पुकार बम र माननीय रहबर अन्सारी ले संसदीय कूटनीति र युवा सशक्तीकरणमार्फत क्षेत्रीय शान्ति सम्भव हुने धारणा राख्नुभएको छ। साथै, काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. उद्धब प्याकुरेल र भिजेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले नवगठित ‘साया’ र नवनियुक्त शान्तिदूतहरूलाई बधाई ज्ञापन गर्नुभएको छ। सोही अवसरमा IAYSP नेपालका अध्यक्ष योगेन्द्र वाग्ले ले देशभर शान्ति अभियान विस्तार गर्न मानार्थ प्रदेश संयोजकहरूको नाम घोषणा गर्दै सुदूरपश्चिम प्रदेशमा भक्तराज भट्ट, लुम्बिनी प्रदेशमा लक्ष्मण भण्डारी, गण्डकी प्रदेशमा राजकुमार भण्डारा, बागमती प्रदेशमा दामोदर भट्ट र कोशी प्रदेशमा रूपक रिजाल लाई जिम्मेवारी प्रदान गरिएको जानकारी गराउनुभयो।

सांस्कृतिक प्रस्तुति र धन्यवाद ज्ञापन समारोहमा एकता एकेडेमीका विद्यार्थीहरू, हेभेनली टप गन (HTG), पिस लिडरसिप ट्रेनिङ (PLT) तथा तोङ-इल मु-दो (Tong-Il Moo-Do) मार्सल आर्ट्स टोलीले आकर्षक सांस्कृतिक तथा साहसिक कला प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा युनिभर्सल पिस फेडेरेसन (UPF) एसिया प्यासिफिकका उपाध्यक्ष सन्तोषकुमार पौडेल ले समारोहलाई सफल बनाउन योगदान पुऱ्याउने स्वदेशी तथा विदेशी अतिथि, युवा प्रतिनिधि र आयोजक टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।