विश्वभर छरिएका नेपाली महिलाहरूको ऐतिहासिक महाकुम्भ : काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ हुँदै
काठमाडौँ, मङ्सिर ३ । विश्वभर छरिएर रहेका नेपाली महिलाहरूको नेतृत्व, उद्यमशीलता र अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने ऐतिहासिक उद्देश्यका साथ आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौँमा ‘प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको संयुक्त सहकार्यमा सम्पन्न हुन लागेको यस सम्मेलनको मूल नारा ‘महिला सशक्तिकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ तय गरिएको छ ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको दुई दशकभन्दा लामो गौरवपूर्ण इतिहासमा विश्वस्तरको महिला सम्मेलन आयोजना हुन लागेको यो पहिलो पटक हो । विश्वका ९० भन्दा बढी मुलुकमा बसोबास गर्ने गैरआवासीय नेपाली महिलाहरू र स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिला नेत्री, विज्ञ तथा उद्यमीहरूलाई एउटै साझा कूटनीतिक तथा बौद्धिक मञ्चमा जोड्नु सम्मेलनको मुख्य ध्येय रहेको छ । यसले नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाललाई अझ सशक्त बनाउँदै ज्ञान, सीप र पुँजीको अन्तर्राष्ट्रिय प्रवाहलाई संस्थागत गर्ने विश्वास लिइएको छ ।
सम्मेलनले महिला सशक्तिकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौतीहरूको गहन समीक्षा गर्दै भावी कार्यदिशा तय गर्नेछ । विशेषगरी डायस्पोरा समुदायका महिलाहरूको अधिकार, अवसर र राज्यका निकायसँगको नीतिगत सहकार्यका विषयमा बृहत् विमर्श गरिनेछ । यसैगरी, वैदेशिक रोजगारीमा जाने महिलाहरूको सुरक्षा, गन्तव्य मुलुकमा उनीहरूको अधिकार, मानसिक स्वास्थ्य र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणमा एनआरएनएको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा ठोस निष्कर्ष निकालिनेछ ।
आर्थिक कूटनीति र उद्यमशीलताको विकासलाई केन्द्रमा राख्दै स्वदेश तथा विदेशका नेपाली महिला उद्यमीहरूबीच व्यावसायिक साझेदारी विस्तार गर्ने विषय सम्मेलनको अर्को महत्वपूर्ण आयाम हो । वित्तीय स्रोत र आधुनिक प्रविधिमा महिलाको पहुँच अभिवृद्धि गर्दै नेपाली मौलिक उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारीकरण तथा निर्यात प्रवर्द्धनमा महिला सहभागिता बढाउन सम्मेलनले महत्वपूर्ण सेतुको काम गर्ने अपेक्षा गरिएको छ । नेपालका सातै प्रदेश र स्थानीय तहका महिला उद्यमीहरूलाई विश्व बजारसँग जोड्ने रणनीतिसमेत सम्मेलनमा प्रस्तुत गरिनेछ ।
यसका साथै, जलवायु परिवर्तन र रसुवा–भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्ले महिला तथा बालबालिकामा पारेको असर, जलवायु न्याय र विपद् व्यवस्थापनमा महिलाको नेतृत्वदायी भूमिकाबारे विशेष सत्र सञ्चालन हुनेछ । लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको संरक्षण एवं सुरक्षाका विषयलाई पनि उच्च प्राथमिकताका साथ उठाइने संघले जनाएको छ ।
महिलाको अर्थपूर्ण सशक्तिकरणबिना राष्ट्रको दिगो र समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजना हुन लागेको यस ऐतिहासिक सम्मेलनले विश्वमञ्चमा सफलता हासिल गरेका नेपाली महिलाहरूका प्रेरणादायी कथालाई उजागर गर्नेछ । सम्मेलनलाई भव्य र उपलब्धिमूलक बनाउन नेपाल सरकारका निकाय, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र र सञ्चार जगतलाई सक्रिय सहभागिताका लागि गैरआवासीय नेपाली संघले हार्दिक आह्वान गरेको छ । तस्वीर : गैरआवासीय नेपाली संघ (एनआरएनए)



प्रतिकृया दिनुहोस्