“नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा

“नमस्कार, मेरा चिनियाँ चिकित्सक” वृत्तचित्रको नेपाली संस्करण काठमाडौँमा सार्वजनिक: हिमालय जस्तै अटल नेपाल-चीन मित्रता र स्वास्थ्य सहकार्यको चर्चा

काठमाडौँ, कात्तिक २९ (ठाँटी खबर): राष्ट्रहरू बीचको मित्रता केवल राजनीतिक सम्बन्धमा मात्र सीमित नभई एक-अर्काका नागरिकहरूको जीवन बचाउन र जीवनस्तर सुधार्न गर्ने योगदानमा समेत प्रगाढ रूपमा प्रतिबिम्बित हुन्छ। यही महत्वपूर्ण कर्म र सम्बन्धको ज्वलन्त उदाहरणका रूपमा काठमाडौँमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। चाइना मिडिया ग्रुप (CMG) र चीनको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा संयुक्त रूपमा निर्मित “नमस्कार, मेरा चिनियाँ डाक्टर” वृत्तचित्रको नेपाली संस्करणको प्रदर्शन समारोह साथभव्यका साथ सम्पन्न भएको छ।।

आज मिति २०८३ कात्तिक २९ गते, आइतबार (१५ नोभेम्बर २०२६) का दिन काठमाडौँको हात्तिसारस्थित होटल आरण्य बुटिकको प्रिम हलमा आयोजित यस विशेष कार्यक्रमको आयोजना चाइना मिडिया ग्रुप (CMG) को एसिया तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्रले गरेको हो भने संयोजन साइनो नेपाल मिडिया सोसाइटीले गरेको हो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा विभिन्न क्षेत्रका आदरणीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक सञ्चालन गर्दै सञ्चालक ध्रुव श्यामकला मगरले उपस्थित सम्पूर्ण महानुभावहरूलाई न्यानो स्वागत गर्दै दशैँ, तिहार, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो। उनले “हेलो माई चाइनिज डाक्टर्स” (नमस्कार, मेरा चिनियाँ डाक्टर) चाइना मिडिया ग्रुपको एसिया अफ्रिका केन्द्रद्वारा निर्मित तीन भागको वृत्तचित्र शृङ्खला रहेको जानकारी गराए। यस वृत्तचित्रका लागि निर्माण टोलीले नेपालसहित कम्बोडिया, पूर्वी टिमोर, उज्बेकिस्तान र काजकिस्तान लगायतका देशहरूको भ्रमण गरी चिनियाँ चिकित्सा टोलीहरूले विदेशमा प्रदान गर्दै आएको स्वास्थ्य सेवा र सहकार्यलाई अभिलेखीकरण गरेको छ।

अतिथिहरूको स्वागत तथा आसन ग्रहण कार्यक्रममा साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो। त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालज्यू रहनुभएको थियो। विशिष्ट अतिथिहरूको रूपमा बाग्मती प्रदेश सरकारका माननीय स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरी बहादुर तामाङज्यू, नेपालका लागि चीनका कार्यवाहक राजदूत एवं मिनिस्टर काउन्सिलर महामहिम चौ फान (चौ फान्जी), चाइना मिडिया ग्रुप अन्तर्गत सिजीटीएनका प्रधान सम्पादक र एसियाली अफ्रिकी भाषा कार्यक्रम निर्देशक आन स्याउ यु (भिडियो मन्तव्यमार्फत), चाइना मिडिया ग्रुपकी नेपाल ब्युरो प्रमुख चाङ युइ ज्यू लगायतको आतिथ्यता रहेको थियो।

साथै, नेपालमा कार्यरत १७औँ चिनियाँ चिकित्सा टोलीका नेता तथा अफ्रिका होमोलोजि चिकित्सक टोलीका निर्देशक डा. हुवाङ छन (वाङ छन), सशस्त्र प्रहरी बल काठमाडौँ अस्पतालका प्रमुख तथा परम्परागत चिनियाँ अर्थोपेडिक्स विभागका उपनिर्देशक डा. जिया सोङ थाओ, अपै क्यान्सर अस्पतालका थोरासिस रेडियो थेरापी विभागका सह-प्रमुख चिकित्सक डा. सु चिङ वेई, न्युरोलोजी विभागका उपप्रमुख एवं नर्स सोङ पोनिङ, प्रशासन सेवा विभागका जिम्मेवार व्यक्तित्व डा. हान्सिया कोङ, तथा किड्नी रोग उपचार सेवाका प्रमुख चिकित्सक डा. लि बियाङ लगायतका चिनियाँ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको विशेष उपस्थिति र आसन ग्रहण रहेको थियो।

कार्यवाहक चिनियाँ राजदूत चौ फानको मन्तव्य कार्यक्रममा मन्तव्य राख्दै नेपालका लागि कार्यवाहक चिनियाँ राजदूत चौ फानले “नमस्कार, मेरा चिनियाँ डाक्टर” वृत्तचित्रले चिनियाँ स्वास्थ्यकर्मीहरूले जीवनरक्षा र उपचारका क्रममा भोगेका प्रेरक कथाहरू, पेसागत समर्पण र महान् हृदयलाई यथार्थ, न्यानो र सरल दृष्टिकोणमार्फत उजागर गरेको बताए। उनले चीन र नेपाल हिमाल र नदीनालाहरूले जोडिएका घनिष्ठ मित्रराष्ट्रहरू भएको र लामो समयदेखि ‘वास्तविकता, सद्भाव, आत्मीयता र इमानदारिता’ को सिद्धान्तलाई आत्मसात् गर्दै नेपालको विकासमा सहयोग गर्दै आएको उल्लेख गरे।

राजदूत फानका अनुसार, सन् १९९९ देखि चीनको हेबेई (Hebei) प्रान्तले नेपालमा चिकित्सा टोली पठाउन सुरु गरेको हो। हालसम्म कुल १७ पटक गरी २९९ जना चिकित्सक नेपाल आइसकेका छन् भने १७औँ टोलीका १७ जना सदस्यहरूले चितवनको बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौँको निजामती कर्मचारी (सिविल) अस्पतालमा १२ वटा विशेषज्ञ विधामा सेवा दिइरहनुभएको छ। विगत २७ वर्षको अवधिमा उनीहरूले क्लिनिकल उपचार, रोग रोकथाम र प्रविधि हस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यसैगरी, २०१६ देखि सिचाङ (तिब्बत) स्वायत्त प्रदेशले सुरु गरेको ‘सिचाङ निःशुल्क चिकित्सा शिविर’ बाट ८,००० भन्दा बढी नेपाली नागरिक लाभान्वित भइसकेका छन्। भविष्यमा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, अस्पताल व्यवस्थापन र टेलिमेडिसिन क्षेत्रमा सहकार्य अझै विस्तार गर्ने चीनको इच्छा रहेको उनले बताए।

डा. हुवाङ छनको अनुभव: प्युठानकी बिरामीदेखि प्राविधिक हस्तान्तरणसम्म नेपालमा रहेको १७औँ चिनियाँ चिकित्सक टोलीका नेता डा. हुवाङ छनले नेपालमा चिकित्सा सहायता प्रदान गर्दाका आफ्ना प्रेरणादायी अनुभवहरू साट्नुभयो। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा प्रदान गर्दै आएका उनले दुर्गम क्षेत्रबाट लामो दूरी तय गरेर बिरामीहरू उपचारका लागि आउने गरेको बताए।

विशेषगरी नेपालको पश्चिमी पहाडी जिल्ला प्युठानको झिमरुकबाट लिम्फोमा (लसिका प्रणालीको क्यान्सर) पीडित ३८ किलो ग्राम तौल भएकी एक युवतीको उपचारको कथा सुनाउँदै उनले भने, चार वर्षअघि १४औँ चिनियाँ चिकित्सा टोलीले उनको जन्मथलोमा निःशुल्क स्वास्थ्य सेवा दिएको थियो, र त्यही विश्वास बोकेर उनी कठिन मौसममा हजारौँ किलोमिटरको यात्रा गर्दै चितवन पुगेकी थिइन्। नेपाली सहकर्मीहरूसँग मिलेर गरिएको प्रभावकारी किमोथेरापी उपचारपछि उनका ट्युमरहरू हराएका थिए।

डा. छनले उपचारसँगै स्थानीय चिकित्सकहरूको क्षमता अभिवृद्धि पनि आफ्नो मुख्य उद्देश्य रहेको बताए। एक वर्षको अवधिमा ५०० भन्दा बढी नेपाली चिकित्सकलाई तालिम दिँदै परम्परागत चिनियाँ हाडजोर्नी उपचार, प्रोस्टेट बायोप्सी, ल्याप्रोस्कोपिक सर्जरी, र PICC (PICC) इलेक्ट्रोकार्डियोग्राम प्रविधि लगायत १० वटा नयाँ चिकित्सा प्रविधि तथा उपचार विधिहरू हस्तान्तरण गरिएको उनले जानकारी दिए।

वृत्तचित्र प्रदर्शन र कार्यक्रमको समापन चाइना मिडिया ग्रुप (CMG) अन्तर्गत सीजीटीएनका प्रधान सम्पादक तथा एसियाली र अफ्रिकी भाषा कार्यक्रम केन्द्रका निर्देशक आन स्यओ युको भिडियो मन्तव्य प्रस्तुत गरिएपश्चात, सम्माननीय राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री गिरबहादुर तामाङज्यूले मन्तव्य व्यक्त गर्नुभएको थियो। अतिथिहरूद्वारा रिबन काटेर औपचारिक शुभारम्भ गरिएपछि कार्यक्रमस्थलमा नेपाली भाषामा तयार पारिएको वृत्तचित्र “नमस्ते, मेरा चिनियाँ चिकित्सक” (नेपाली खण्ड) प्रदर्शन गरिएको थियो। वृत्तचित्र प्रदर्शन पश्चात् सम्पूर्ण अतिथि तथा सहभागीहरूका लागि दिवा भोजनको आयोजना गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।