बालेनको यूएन सम्बोधनपछि दीपक मल्होत्रा : ‘आज नेपाली हुनुमा अझ गर्व लाग्यो’

बालेनको यूएन सम्बोधनपछि दीपक मल्होत्रा : ‘आज नेपाली हुनुमा अझ गर्व लाग्यो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दीपककुमार मल्होत्राले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गर्नुभएको सम्बोधनले विश्वमञ्चमा नेपालको आत्मविश्वास प्रस्तुत गरेको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले गर्नुभएको सम्बोधन आफूलाई निकै प्रभावकारी लागेको उल्लेख गर्दै मल्होत्राले उहाँको प्रस्तुति सकारात्मक, स्पष्ट र आत्मविश्वासपूर्ण रहेको बताउनुभएको छ। उहाँका अनुसार नेपालले विश्वमञ्चमा आफ्ना समस्या मात्र प्रस्तुत नगरी सहकार्य, समाधान र साझा जिम्मेवारीको सन्देश दिनु महत्वपूर्ण पक्ष हो।

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमलाई प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुभएको मल्होत्राको भनाइ छ। विशेषगरी भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढी, हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम तथा जलवायु न्यायको विषयलाई विश्वसमुदायको ध्यानाकर्षण गराउनु महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ।

प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउनुभएको थियो। साथै, वन संरक्षण, स्वच्छ जलविद्युत् तथा विद्युतीय सवारीसाधनको प्रयोगमा नेपालले गरिरहेको प्रयासलाई समेत उहाँले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुभएको थियो।

नेपालजस्ता जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकप्रति विकसित राष्ट्रहरूले थप जिम्मेवारी लिनुपर्ने विषय उठाइनु सकारात्मक रहेको मल्होत्राले बताउनुभएको छ। उहाँका अनुसार जलवायु संकटलाई नेपालले केवल समस्या वा गुनासोका रूपमा नभई विश्वव्यापी सहकार्य र समाधानको अवसरका रूपमा प्रस्तुत गर्नु अर्थपूर्ण रहेको छ।

प्रधानमन्त्री शाहले हिमालय क्षेत्रको जलवायु जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच ‘हिमालय क्लाइमेट रेजिलियन्स मेकानिज्म’स्थापना गर्ने प्रस्तावसमेत राख्नुभएको छ। यसअन्तर्गत सूचना तथा विज्ञता आदानप्रदान, हिमतालको जोखिम निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने सहकार्यको प्रस्ताव गरिएको छ।

मल्होत्राका अनुसार प्रधानमन्त्री शाहले महासभामा गर्नुभएको सम्बोधनले विश्वमञ्चमा नेपालको समस्या मात्र नभई नेपालको सम्भावना, आत्मविश्वास र भविष्यप्रतिको दृष्टिकोणसमेत प्रस्तुत गरेको छ।

“आज नेपाली हुनुमा अझ गर्व महसुस भयो,” मल्होत्राले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री शाहलाई प्रभावशाली सम्बोधनका लागि बधाई तथा शुभकामना दिनुभएको छ।