वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल

वैदेशिक अध्ययन र रोजगारीका नाममा ठगीधन्दा: पूर्व डीआईजी रमेश खरेलद्वारा उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ, वरिष्ठ समाजसेवी तथा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेशप्रसाद खरेलले वैदेशिक अध्ययन तथा रोजगारीका लागि विदेशिने नेपाली युवाहरू दिनप्रतिदिन आफ्नै नेपाली समुदायबाट ठगिने क्रम बढेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। हालै एक भिडियो सन्देश जारी गर्दै खरेलले विदेशमा रहेका सोझा-साझा नेपालीहरूलाई सतर्क रहन र सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभएको हो।

लन्डनबाट आएको एक कल र युवाको पीडा

पूर्व डीआईजी खरेलका अनुसार बेलायत (युके) को लन्डनमा अध्ययनरत एक नेपाली विद्यार्थीले टेलिफोन गरी आफू ठगिएको पीडा सुनाएपछि उहाँले यो विषयलाई सार्वजनिक रूपमा उठाएका हुन्।
आमाबुबा तथा अभिभावकले घरजग्गा बिक्री गरेर, ऋण-धन गरेर वा मिटरब्याजीसँग रकम लिएर ठूलो सपनाका साथ छोराछोरीलाई विदेश पठाउने गरे पनि विदेश पुगेपछि विदेशीबाट भन्दा आफ्नै नेपाली दाजुभाइहरूबाट ठगिने अवस्था सिर्जना भएको खरेलले बताउनुभयो। आवास (रुम/रेन्ट) मिलाइदिने, इन्स्योरेन्स, डकुमेन्टेसन र भविष्य बनाइदिने जस्ता विभिन्न प्रलोभन र आश्वासन दिएर नेपालीले नै नेपालीलाई ठग्ने गरेको घटना दिनप्रतिदिन बढ्दै गएको प्रति उहाँले दुःखी तुल्याएको उल्लेख गर्नुभयो।

“नेपाली नै पीडित, नेपाली नै पीडक”

संसारभर २ देखि ३ लाखभन्दा बढी नेपालीहरू स्थापित भएर राम्रो काम गरिरहेको भए पनि केही ठग प्रवृत्तिका कारण ठूलो सङ्ख्याका नेपालीहरू मारमा परेको खरेलको भनाइ छ।
“विदेशी भूमिमा पुगेका सोझा नेपालीहरू विदेशीबाट होइन, आफ्नै नेपाली दाजुभाइहरूबाट ठगिएका छन्। ‘नेपाली नै पीडित र नेपाली नै पीडक’ बन्ने यो दुष्चक्र अब अन्त्य हुनुपर्छ।” — रमेशप्रसाद खरेल, पूर्व डीआईजी

नेपाल सरकार र कूटनीतिक नियोगलाई आग्रह

पूर्व डीआईजी खरेलले वैदेशिक यात्रामा निस्कनुअघि नै युवाहरूलाई सही ओरिएन्टेसन (अभिमुखीकरण) र सचेतना प्रदान गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। साथै, विदेशस्थित नेपाली दूतावास (एमबेसी) तथा गैरआवासीय नेपाली संघ (NRNA) जस्ता आधिकारिक संस्थाहरूले चौबीसै घण्टा नेपाली विद्यार्थी तथा श्रमिकहरूको हित र सुरक्षामा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
विदेश जाने तयारीमा रहेका युवाहरूलाई कुनै पनि लोभ वा प्रलोभनमा नपरी उच्च सतर्कता (High Alert) मा बस्न र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन समेत उहाँले अपिल गर्नुभएको छ।