‘न्यूजिल्याण्ड पठाइदिन्छु’ भन्दै १० लाख ठगी-वैदेशिक रोजगारीको नाममा सपना बेच्ने व्यक्ति पक्राउ

‘न्यूजिल्याण्ड पठाइदिन्छु’ भन्दै १० लाख ठगी-वैदेशिक रोजगारीको नाममा सपना बेच्ने व्यक्ति पक्राउ

काठमाडौं, १४ पुस —
आकर्षक तलबको प्रलोभन देखाएर न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

काठमाडौं कीर्तिपुर नगरपालिका–११ बस्दै आएका सुनसरी इनरूवा नगरपालिका–१ घर भएका ३८ वर्षीय विशाल कटुवाललाई प्रहरीले ठगी अभियोगमा पक्राउ गरेको हो।

प्रहरीका अनुसार विशालले एक जना पीडितलाई न्यूजिल्याण्डमा राम्रो रोजगारी मिलाइदिने आश्वासन दिँदै १० लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितले उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई कीर्तिपुर नगरपालिका–११ बाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कटुवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीको चेतावनी:
वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन र कुनै पनि रकम बुझाउनुअघि सम्बन्धित निकायमा जानकारी लिन आग्रह।