“सङ्कटको राजनीतिमा एमालेको भरोसा जनता नै हुन्” — प्रदीप ज्ञवाली

“सङ्कटको राजनीतिमा एमालेको भरोसा जनता नै हुन्” — प्रदीप ज्ञवाली

काठमाडौं, मंसिर २७ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा आइपुग्नासाथ माहोल तातेको छ। ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अघि बढेको छ भने मैदान नाराबाजी, ताली र उत्साहले गुञ्जायमान बनेको छ।

कार्यक्रमस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव, उपमहासचिव तथा अन्य शीर्ष नेताहरू यसअघि नै उपस्थित भइसकेका थिए। अध्यक्ष ओली प्रवेश गर्नेबित्तिकै नेता–कार्यकर्ताले “ओली–ओली” को नारासहित भव्य स्वागत गरेका छन्।

तीनकुनेको मैदान दुवै दिशाबाट झण्डा, ब्यानर र विशाल र्‍यालीसहित प्रवेश गरेका नेता–कार्यकर्ताले पूरै भरिएको छ। देशभरबाट आएका हजारौँ प्रतिनिधि र कार्यकर्ताको उपस्थितिले महाधिवेशन स्थल शक्ति प्रदर्शनको केन्द्र बनेको छ।

केही बेरमै अध्यक्ष ओलीले औपचारिक रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यसूची छ। उद्घाटन समारोहको सञ्चालन पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले गरिरहनु भएको छ।

महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरण, नीति–कार्यक्रम निर्माण र भावी नेतृत्व चयनको ऐतिहासिक अवसरका रूपमा लिएको छ। वर्तमान राजनीतिक सङ्कटको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले “जननिर्वाचित सरकार ढालेर अराजकता निम्त्याइएको अवस्थामा एमालेको यो महाधिवेशन सुरु भएको” बताउनुभयो। यस्तो परिस्थितिमा देखिएको ऐक्यबद्ध र गौरवपूर्ण उपस्थितिका लागि उहाँले सबै प्रतिनिधि र कार्यकर्तालाई धन्यवाद दिनुभयो।

तीनकुनेमा देखिएको जनसागरले एमाले अझै बलियो रहेको सन्देश दिएको छ — अब नजर सबैको, ओलीको उद्घाटन मन्तव्यतर्फ!