एनआरएनए बीचको एकता पुष्टि, सञ्चारमन्त्री खरेलले शुभकामना
काठमाडौँ, १४ मङ्सिर: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच ऐतिहासिक एकता भएको घोषणा गर्दै आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा विशेष सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। यो एकता सम्झौतामा ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीच बृहत एकताको सहमति भएको हो।
सञ्चारमन्त्री खरेलको नेतृत्व र विशेष पहलमा, एनआरएनएका दुई समूहबीच लामो समयदेखि रहेको विभाजनको अन्त्य गर्दै आज ऐतिहासिक एकता सम्भव भएको हो। मन्त्री खरेलले कार्यक्रममा बोल्दै भने, “आजको हस्ताक्षर कागजमा मात्रै होइन, यो मन र मस्तिष्कमा पनि कायम रहोस्। एकता व्यवहारमा पनि दिगो र बलियो बनोस्। फुटेर हैन, जुटेरै अघि बढ्न सकिन्छ।”
एनआरएनएको एकता ८० लाख गैरआवासीय नेपालीको लागि एक सकारात्मक सन्देश भएको उनले बताए। मन्त्री खरेलले एनआरएनलाई अब राजनीतिका कारणले विभाजन गर्न नदिन आग्रह गर्दै, “एनआरएनालाई जनताको संस्थाको रूपमा स्थापित गर्नुहोस्,” भने।
नेपाल आर्थिक समृद्धिका लागि एनआरएनको नयाँ प्रतिबद्धता
कार्यक्रममा, एनआरएनएका अध्यक्ष डा. बद्री केसीले एकताको महत्व र यसको समृद्ध नेपाल निर्माणमा योगदानको बारेमा बोल्दै भने, “यो एकता विश्वास र अठोटको हो। ८० लाख नेपालीको एकता अब कहिल्यै राजनीतिका कारण विभाजित हुने छैन।” उहाँले विशेषगरी सञ्चारमन्त्री खरेललाई धन्यवाद दिँदै भन्नुभयो, “तपाईंको नेतृत्वले यो एकता सम्भव बनायो।”
अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले पनि एकता पछि गैरआवासीय नेपालीबीचको भावनात्मक एकताको नयाँ युगको शुरुवात भएको भन्दै, “यस एकताले नेपालको समृद्धिको लागि मद्दत पुर्याउनेछ।” भने।
आगामी महाधिवेशन र भविष्यका योजनाहरू
यस एकता पछि, एनआरएनएले आगामी चार महिनाभित्र १२औं महाधिवेशन गर्ने सहमति पनि जुटाएको छ। अब संस्था थप बलियो भएर नेपालका लागि नयाँ अवसर र समृद्धि ल्याउने दिशामा अघि बढ्ने तयारीमा छ।
यो ऐतिहासिक एकता नेपालको समृद्धि र आर्थिक समृद्धिको लागि एक ठूलो कदम मानिएको छ, र यसले विदेशमा रहेका नेपालीहरूको मनमा नयाँ आशा र विश्वासको ज्योति बलाएको छ।



प्रतिकृया दिनुहोस्