रामकुमारी झाँक्रीको कडा टिप्पणी: “नयाँ पुस्तालाई ठाउँ नदिँदा पार्टी कमजोर बन्दै
काठमाडौं, मंसिर २।
नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र नयाँ पुस्तालाई जोड्ने र टिकाइराख्ने रणनीति अब अनिवार्य भइसकेको बताएकी छिन्। प्रेस चौतारी नेपाल, अर्घाखाँचीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले “सिप सिकेका युवालाई उचित स्थान दिएर परिचालन नगरेसम्म पार्टी सबल हुँदैन” भनेर स्पष्ट धारणा राखिन्।
झाँक्रीका अनुसार UML को इतिहास नै युवाको जगमा उभिएको छ। उनले भनिन्—
“हिजो हाइस्कुलको ड्रेसमै पार्टी बनाएका युवालाई अझै पनि अवमूल्यन गर्ने हो भने संकट त आउँछ। उनीहरूलाई फर्काएर ल्याउने काम UML ले नै गर्छ।”
“कात्तिक २९ मा UML को शक्ति देखियो— ७७ जिल्लाबाट ५ लाख जनताको उपस्थिति”
उनले कात्तिक २९ गते देशभर UML ले देखाएको शक्ति ‘सामान्य प्रदर्शन मात्र नभएको’ दाबी गरिन्।
“५ लाख मानिस सडकमा देखिए, परिवारको हिसाबले हेर्ने हो भने त्यो २० लाखको शक्ति हो,” उनले भनिन्।
“हतियार र कैदी बाहिर हुँदा निर्वाचन असम्भव”
सुरक्षा व्यवस्थाको अवस्थालाई लिएर झाँक्री कडा रूपमा प्रस्तुत भइन्।
“खोसिएका बन्दुक र फरार कैदीहरूको जिम्मा नलिई चुनाव गरिन्छ भनिन्छ भने, UML ले पनि आफ्नो स्टेटमेन्ट दिन तयार छ,” उनले चेतावनी दिइन्।
प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा उठाउँदै झाँक्रीको आरोप:
“भदौ २३/२४ छानबिन आयोग प्रतिशोधमा पुगेको छ”
उनी भन्छिन्, राजनीतिक दलका नेताहरूलाई चुनावमै भाग लिन नदिने गरी आयोग र सरकार लागेको छ।
उनका अनुसार भदौ २३ र २४ का घटनाहरू नेपालको संविधान र राष्ट्रिय अखण्डता ध्वस्त गर्ने नियतसहित गराइएको थियो।
साथै उनले प्रतिनिधि सभा पुनर्स्थापना नै स्थायित्वको एकमात्र उपाय भएको दाबी गरिन्।
“यो UML मात्रको मुद्दा होइन, देशकै भविष्यको प्रश्न हो,” उनले भनिन्।



प्रतिकृया दिनुहोस्