सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

सेनामा भर्ती गराइदिन्छु भन्दै २ लाख ४० हजार ठगी, एक जना पक्राउ

कैलाली, नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै २ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ बस्ने ३५ वर्षीय हरिश चन्द रहेका छन्।

प्रहरीका अनुसार चन्दले नेपाली सेनामा भर्ती गराइदिने भन्दै पीडितबाट २ लाख ४० हजार रुपैयाँ लिई ठगी गरेको उजुरी परेको थियो। उजुरीपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सेनामा भर्ती गराइदिने भन्दै पैसा माग्ने व्यक्तिको प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रियामार्फत मात्रै आवेदन दिन प्रहरीले आग्रह गरेको छ।