इक्यान सचिव पदमा एलबी तामाङ (गोले) को उम्मेदवारी : सुधार, डिजिटल रूपान्तरण र सदस्य सशक्तीकरणको स्पष्ट एजेन्डा

इक्यान सचिव पदमा एलबी तामाङ (गोले) को उम्मेदवारी : सुधार, डिजिटल रूपान्तरण र सदस्य सशक्तीकरणको स्पष्ट एजेन्डा

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमाको आगामीकार्यकालका लागि एन्ड्र्यु समूहबाट सचिव पदका उम्मेदवार एलबी तामाङ (गोले) ले आफ्नो उम्मेदवारीलाई संस्थागत सुधार, डिजिटल रूपान्तरण र सदस्य–केन्द्रित सेवासँग जोड्दै अघि बढाउनुभएको छ।

शैक्षिक परामर्श क्षेत्रका विद्यमान समस्या समाधान र भविष्यका सम्भावनालाई व्यवहारमा उतार्ने स्पष्ट कार्ययोजनासहित तामाङले ECAN सचिवको रूपमा आफ्नो उम्मेदवारी अर्थपूर्ण र आवश्यक भएको दाबी गर्नुभएको छ।

तामाङका अनुसार, उहाँ निर्वाचित भएमा ECAN सदस्यहरूको सीप, दक्षता र बजारअनुसारको व्यवसायिक क्षमता विकासलाई प्राथमिकता दिइनेछ। सदस्यहरूसँग नियमित सम्पर्कमा रही उनीहरूका समस्या तत्काल समाधान गर्ने संयन्त्र निर्माण गरिने उहाँको प्रतिबद्धता छ।

उहाँले लामो समयदेखि जटिल बन्दै आएको NOC प्रक्रियालाई १०० प्रतिशत अनलाइन बनाउन पहल गर्ने, विद्यार्थी तथा अभिभावकलाई प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता अन्त्य गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुभएको छ। साथै, नक्कली कागजात प्रमाणीकरण नियन्त्रण भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने दर्ता तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइन गराउन पहल गरिने बताउनुभएको छ।

ECAN सदस्यहरूको सामाजिक सुरक्षालाई ध्यानमा राख्दै सम्पूर्ण सदस्यलाई जीवन बीमा प्रणालीमा आबद्ध गराउने, व्यवसायिक मर्यादा कायम गर्न पर्यटक भिसा दुरुपयोग गर्ने संस्था तथा अव्यवस्थित दर्ता प्रक्रियालाई निरुत्साहित गर्ने एजेन्डा पनि उहाँले अघि सार्नुभएको छ।

संस्थागत सुदृढीकरणका सन्दर्भमा तामाङले लामो समयदेखि उठ्दै आएको ‘ECAN को आफ्नै भवन’ निर्माणको सपना साकार पार्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै Smart ECAN, Digital ECAN, Global ECAN र Vulnerable ECAN को अवधारणालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने योजना उहाँको एजेन्डामा समेटिएको छ।

उद्योगलाई राजनीतिक प्रभावभन्दा माथि उठाउँदै सच्चा, इमान्दार, विद्वान र प्राज्ञिक पेशाकर्मीलाई ECAN को नेतृत्व र प्लेटफर्ममा अगाडि ल्याउने, विदेशमा रहेका नेपाली वैज्ञानिक, इन्जिनियर, डाक्टर, विद्वान तथा सफल व्यवसायीलाई नेपालमै अवसर सिर्जना गर्न अध्ययन र पहल गर्ने तामाङको दृष्टिकोण रहेको छ।

त्यसैगरी, ‘Study in Nepal’ अभियानलाई व्यवहारमा उतार्न छुट्टै विभाग गठन, नयाँ गन्तव्य खोजीमार्फत सदस्य व्यवसाय सशक्तीकरण, Gen-Z भावना अनुसार युवा व्यवसायी प्रोत्साहन, र सदस्यहरूलाई समय–समयमा संस्थागत गतिविधिबारे जानकारी गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ।

हामी व्यक्तिगत व्यवसाय बलियो बनाउन चुनावमा होमिएका होइनौँ, ECAN र सम्पूर्ण सदस्यलाई बलियो बनाउन समर्पित छौँ,” तामाङको भनाइ छ।

स्पष्ट एजेन्डा, सुधारमुखी सोच र डिजिटल भविष्यप्रतिको दृष्टिकोणका कारण एलबी तामाङ (गोले) को उम्मेदवारी ECAN सचिव पदका लागि समयसापेक्ष, आवश्यक र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।