६ सय खेलाडीको सहभागितासहित दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप शुरू
काठमाडौं, २० पुस – देशभरका तेक्वान्डो खेलाडीहरूको उत्साहजनक सहभागितासहित दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप–२०८२ आइतबारबाट काठमाडौंमा शुरू भएको छ।
नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले गर्नुभयो। उद्घाटन कार्यक्रममा एआईजी कार्कीले सहभागी सम्पूर्ण खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सामूहिक भावना विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले स्वागत मन्तव्य दिँदै प्रतियोगिताको उद्देश्य र महत्वबारे जानकारी गराउनुभयो।
सोमबार सम्पन्न हुने उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, काभ्रे, धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुरलगायत ४५ विद्यालय तथा डोजाङका करिब ६ सय तेक्वान्डो खेलाडीहरूको सहभागिता रहेको छ।
कार्यक्रममा विभिन्न विद्यालयका खेलाडी, प्रशिक्षक, शिक्षक तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
यस्ता राष्ट्रियस्तरका प्रतियोगिताले भविष्यका अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न बल पुर्याउने विश्वास लिइएको छ।



प्रतिकृया दिनुहोस्