सरकार–नागरिक बचाउ महाअभियान वार्ता सकारात्मक मोडमा, सहमतितर्फ संकेत

सरकार–नागरिक बचाउ महाअभियान वार्ता सकारात्मक मोडमा, सहमतितर्फ संकेत

काठमाडौँ, १ पुस — सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच आज भएको वार्ता सौहार्दपूर्ण र अत्यन्त सकारात्मक भएको छ। लामो समयदेखि चासोको विषय बनेको यो वार्ताले अब समाधानतर्फ अगाडि बढ्ने संकेत दिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सम्पन्न वार्तापछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले भन्नुभयो,

“सरकार र नागरिक बचाउ महाअभियानबीच सकारात्मक वातावरणमा गम्भीर छलफल भयो। दुबैतर्फका कुरा सौहार्दपूर्ण ढङ्गले राखिए। आन्तरिक गृहकार्य गरेर वार्तालाई निरन्तरता दिने प्रारम्भिक समझदारी बनेको छ।”

महाअभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बुले पनि वार्ता फलदायी भएको पुष्टि गर्नुभयो।

“चरणबद्ध संवादमार्फत हामीले उठाएका मागहरू समाधान गर्ने सहमति भएको छ। वातावरण सकारात्मक छ,” उहाँले बताउनुभयो।

प्रधानमन्त्रीसँग प्रत्यक्ष वार्ता हुने तयारी
आजको वार्तापछि महाअभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले छिट्टै प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष वार्ता गर्ने तयारी भइरहेको छ।

वार्तामा को–को सहभागी?
सरकारको तर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी हुनुहुन्थ्यो।
महाअभियानको तर्फबाट सचिव प्रेमदिप लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौलाप्रेम थापामगर सहभागी थिए।
वरिष्ठ अधिवक्ता विनोदमणि भट्टराईलवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको थियो।

निर्वाचन सहज बनाउन संवादको पहल
सरकारले आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक वातावरण सहज बनाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिसकेको छ। कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा समस्या समाधान तथा सहजीकरण समिति सक्रिय छ।