सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, १६ भदौ

​ काठमाडौं, चन्द्रागिरी नगरपालिका-१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो  । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

​चितवन, भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित सडकमा ग.१ ख ४१४० नम्बरको बस र ग.१२ प ६९९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तनहुँ भिमाद नगरपालिका-२ बस्ने २९ वर्षीय किशन विश्वकर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

​दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।