अवैध वित्तीय कारोबारमा संलग्न २१ जना पक्राउ
काठमाडौं, १५ वैशाख
अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमाविभिन्न मनि ट्रान्सफरका संचालकहरू समेत गरी २१ जनालाई केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा, ३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीयराज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरूङ, ३४वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।
आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा उनीहरूको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि Money Muleहरूलाई परिचालन गरी ठुलो परिमाणमा नगदै रकम खातामा Placement गर्ने गरेको, विभिन्न रेमिटेन्स भुक्तानी गर्न अनुमती लिएका मनि ट्रान्सफर प्रालिहरूले उक्त डिजिटल वालेट कम्पनीहरू मार्फत ई-मनि बनाई सो रकमलाई रेमिटेन्स बापत भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका नेपालमा रहेका आफन्तहरूको खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको रकम हिसाब मिलान गरेको समेत खुल्ल आएको छ । उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको कारोबार गरेकोअनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ ।



प्रतिकृया दिनुहोस्