वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं, ८ वैशाख  

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्तीक्षेत्री रहेका छन् ।

पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पडितबाट ८ लाख रूपैयाँ, केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना पडितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने पडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयटेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौंमहानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौंमहानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई दाङतुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कुराको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालय (केन्द्रीय प्रहरी समाचार कक्ष) ले जानाकारी दिएको छ  ।