दुर्गा प्रसाई पक्राउको समाचार झुटो : नेपाल प्रहरी

दुर्गा प्रसाई पक्राउको समाचार झुटो : नेपाल प्रहरी

काठमाडौँ ।
दुर्गा प्रसाई पक्राउ परेको समाचार झुटो रहेको नेपाल प्रहरीले जनाएको छ । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंलाई पक्राउ गरेर नेपाल ल्याइँदै गरेकाे समाचार विभिन्न स्राेतकाे उल्लेख गर्दै प्रकाशित भएपछि प्रहरी महानिरीक्षकको सचिवालयले खण्डन गरेको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति मार्फत विभिन्न समाचारमा तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई भारतको आसाममा पक्राउ परेको समाचार झुटो रहेको स्पष्ट पारेकाे छ । केही सञ्चार माध्यमले दुर्गा प्रसाई भारतको आसाममा पक्राउ परेको भनेर सूचना सार्वजनिक गरेका थिए । त्यसको खण्डन गर्दै महानिरीक्षकको सचिवालयले प्रहरीको फरार  सूचीमा रहेको प्रसाइको खोजी जारी रहेको तर पक्राउ परिनसकेको जनाएको छ ।

राजावादी आन्दोलनमा ‘कमाण्डर’को भूमिका खेलेका भनिएका प्रसाईं चैत १५ को काठमाडौं केन्द्रित प्रदर्शनपछि फरार भएका थिए। सो आन्दोलनमा व्यापक तोडफोड, आगजनी र निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको थियो, प्रसाईंमाथि यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण कानुनी र सार्वजनिक दबाब आइरहेका थिए। पछिल्लो घटनाले उनलाई थप संकटमापारेको छ।