सबैको भोगाइ, आफ्नै तक्दिर – दिपा वस्ती पाण्डे
जीवन भन्नु नै विभिन्न रंगहरूले रंगिएको एउटा विशाल क्यानभास जस्तै हो । प्रत्येक व्यक्तिको त्यो क्यानभासमा आफ्नै–आफ्नै रङ, आफ्नै पिडा, खुशी, संघर्ष र आशाहरू टाँसिएका हुन्छन् । बाहिरबाट हेर्दा सबैको जीवन सामान्य, सरल वा समानजस्तै देखिए पनि भित्र पुगेपछि सबैको कथा फरक–फरक, आफ्नै मनको चोट र अनुभवहरूले भरिएका हुन्छन्।
“सबैको आफ्नो–आफ्नो भोगाइ हुन्छ ”—यो साधारण वाक्यजस्तो लागे पनि यसमा जीवनको सबैभन्दा गहिरो सत्य लुकेको छ।
कसैले बाहिरबाट ठिक देखिए पनि मन भित्र ठूलो युद्ध लडिरहेक हुन्छन्। कसैले मुस्कान छरेका हुन्छन्, तर त्यो मुस्कानको पछाडि थुप्रै अपूरा सपना र विछोडिँदै गएको आत्मबल लुकेका हुन्छन्।
हामी प्रायः अरूको जीवन तुलना गर्छौँ—
किन ऊ यति सफल भयो?
किन उसको जीवन यति सजिलो देखिन्छ?
तर हामीले देखेको त केवल “तस्बिर” मात्र हो। तस्बिरजस्तै सबैको तक्दिर कहाँ हुन्छ र!
तस्बिरले बाहिरको रूप देखाउँछ, तर तक्दिरले भित्रको यात्रालाई बोकेर हिँडेको हुन्छ।
कसैको भाग्यले छिट्टै फूल फुलाउँछ, कसैको बगैँचामा ढिलो गरी फूल फुल्छ।
तर ढिलो फुल्ने फूलहरू अक्सर धेरै टिकाउ, धेरै गन्धिला र धेरै अर्थपूर्ण हुन्छन्।
जीवनमा सबै कुरा आफ्नो समयमा नै आउँछ—न त पहिले, न त पछाडि।
त्यसैले—
आफ्नो भोगाइलाई लज्जा मानेर होइन, गर्वका साथ स्वीकार गरौँ।
आफ्नो तक्दिरमा गुनासो होइन, भरोसा गरौँ।
किनकि प्रत्येक संघर्षले केही न केही बनाइरहेको हुन्छ—
हामीलाई अझ बलियो, अझ संवेदनशील, अझ मानव बनाउँदै।
अन्त्यमा—
कसैको जीवन हेरेर निराश नहोऊ,
कसैको जस्तै बन्न नचाहूँ।
आफ्नै यात्रामा गर्व गर, किनकि यही यात्रा तिम्रो कहानी हो—
र हरेक कथाको मूल्य उसकै भोगाइले तोक्दछ।
✍🏻✍🏻 दिपा वस्ती पाण्डे



प्रतिकृया दिनुहोस्